किसानलाई अधिकतम् लाभ दिने उद्देश्यले कृषकलाई अनुदान दिनेगरी चार कार्यक्रम एकसाथ अघि बढाउँदै फक्ताङलुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले किसानलाई पूर्ण लाभ दिनेगरी चार मुख्य कार्यक्रम एकसाथ अघि बढाउने घोषणा गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूका अनुसार‘एक घर,एक करेसा बारी’,मागमा आधारित व्यवसायिक तरकारी,फलफूल खेति तथा कृषि सामग्री बितरण कार्यक्रम,प्लाष्टिक टनेल बितरण र एक वडा,एक उत्पादन कार्यक्रम अघि बढाउन लागेको हो । पालिकाले चारवटै कार्यक्रममा सहभागी हुन चाहने कृषकलाई कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आवह्वान समेत गरेको छ । सबै कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषकहरुले असोज २५ गते भित्र पालिकामा आवेदन गरिसक्न पालिकाले सूचना जारी गरेको छ । कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यवसायमुखी बनाउने अभियानका साथ पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाका किसानलाई अर्गानिक र व्यवसायिक खेति प्रणालीमा आवद्ध गर्न पालिकाले बिशेष महत्वका साथ कार्यक्रम अघि बढाईरहेको जानकारी दिनु भएको छ । कृषि क्षेत्रमा बलियो सम्भावना रहेको फक्ताङलुङ गाउँपालिकाले कृषि क्षेत्रको प्रर्वद्धन गर्दै व्यवसायिक खेतितर्फ किसानलाई आर्कषित गर्न चाहेको बताएको छ । उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्दै कृषि क्षेत्रबाट बलियो आर्थिक उर्पाजनका लागि पालिकाले किसान केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको समेत जनाएको छ ।
फक्ताङलुङले किसानको उत्पादनको बजार सुनिश्चित गर्न कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ । पालिकाका मुख्य बजार क्षेत्रहरुमा संकलन केन्द्र स्थापना गरी पालिकाले कृषि उत्पादनमा बिचौलियाको प्रभाव अन्त्य गरी ‘किसानको उत्पादन,किसानकै हातमा’नारा अघि सारेको छ । उत्पादन अभिबृद्धि गर्ने र उत्पादनको बजार सुनिश्चित गर्ने अभियानमा लागेको फक्ताङलुङले किसानलाई स्थानीय सरकारकोतर्फबाट सहुलियत तथा अनुदान दिने,कृषिउपजको उत्पादन बढाउने र उत्पादित बस्तुको बजार सुनिश्चित गर्ने कार्य अघि बढाएको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।