खेवाङ खेलकुद महोत्सव कात्तिक १६ देखि २१ सम्म,यसबर्ष म्याराथन प्रतियोगिता थप,पुरस्कार राशीमा बृद्धि
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा कात्तिक १६ देखि हुने खेवाङ खेलकुद महोत्सवका क्रममा सञ्चालन हुने खेलकुद तथा हाफ म्याराथनका बिजेताले पाउने पुरस्कार रकम सार्वजनिक गरिएको छ ।
आयोजक खेवाङ स्पोर्टिङ क्लवले आइतवार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका क्रममा सञ्चालन हुने क्लव स्तरीय फुटबल,अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल र हाफ म्याराथन प्रतियोगिताका बिजेताले पाउने पुरस्कार राशी सार्वजनिक गरेको हो । खेवाङ स्पोर्टिङ क्लवका अध्यक्ष विनम मावोका अनुसार फुटबल खेलमा ८ वटा टीम सहभागी हुनेछन् । झापा,इलाम,पाँचथर र ताप्लेजुङका गरी ८ टीम सहभागी हुने भएपनि सहभागी हुने क्लवको टुङ्गो केहिदिन पछि लाग्ने आयोजक क्लवका अध्यक्ष मावोले जानकारी दिनुभयो । यसबर्ष साविक भन्दा पुरस्कार राशीमा बृद्धि गरिएको आयोजक क्लवले जनाएको छ ।
अध्यक्ष मावोका अनुसार यसबर्ष फुटबल प्रतियोगितामा प्रथम हुनेले १ लाख ५५ हजार ५८३ रुपैयाँ र उपबिजेता हुने टीमले १ लाख ५ हजार ५८३ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । पुरुष भलिबलतर्फ प्रथम हुनेले ६० हजार,द्धितीय हुनेले ४० हजार तथा महिलातर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने मावोले जानकारी दिनुभयो । महोत्सवको अन्तिम दिन कात्तिक २१ गते हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । तत्कालिन खेवाङ गाउँ विकास समितिको साविक वडा नं १ बाहेक साविकका ८ वटा वडालाई परिक्रमा गर्नेगरी २१ किलोमिटर दूरीमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ । म्याराथन खेवाङ स्पोर्टिङ क्लवको मैदानबाट सुरुभई एकचाना भञ्ज्याङ–लुङथुङ डाँडा–तम्फु–तावाटार–मानेडाँडा–जुगे डाँडा हुँदै पुनःखेवाङ स्पोर्टिङ क्लवको मैदानमा आएर हाफ म्याराथन पूरा हुने आयोजक क्लवले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
म्याराथन प्रतियोगितामा प्रथम,द्धितीय र तृतीयका अलवा दशौं स्थानसम्ममा दूरी पार गर्ने धावकलाई पुरस्कृत गरिने क्लवले जनाएको छ । क्लवका अध्यक्ष मावोका अनुुसार म्याराथनमा प्रथम हुनेले ३३ हजार ५८३ रुपैयाँ,द्धितीय हुनेलाई २२ हजार ५८३ रुपैयाँ र तृतीय हुनेलाई १३ हजार ५८३ रुपैयाँका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । चौथो हुनेलाई ७ हजार ५८३ रुपैयाँ,पाँचौं,छैटौं,सातौं र आठौं हुनेलाई ५ हजार ५८३ रुपैयाँ र नवौं तथा दशौं हुनेलाई ३ हजार ५८३ रुपैयाँसहित प्रमाणपत्रको व्यवस्था रहेको समेत मावोले जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्न कुल २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष मावोले बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकासका निवर्तमान अध्यक्ष गणेश मावो,जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अञ्जना कडरिया,पाथीभरा क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष रक्की थेबे,जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल,युवा राजनीतिकर्मी रञ्जित ताम्जोङ,सन्तोष चाम्लिङ,राज थेबे र अमित काङ्भा,अधिवक्ता सन्तोष प्रसाँइ,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,उपाध्यक्ष सन्तोष पुर्कुटी,खेवाङ स्पोर्टिङ क्लवका सदस्य बाबुराम लिम्बूसहितको उपस्थिति रहेको थियो ।