११ औं आङखोप कप कात्तिक २७ देखि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाकै अहिलेसम्मकै सर्वाधिक राशीको ११ औं आङ्खोप कप पुरुष तथा महिला नकाउट फुटबल प्रतियोगिता आउँदो कात्तिक २७ गते देखि हुने भएको छ ।

आयोजक आङखोप युवा समाजका पूर्व अध्यक्ष भूपेन्द्र बुढाक्षेत्रीका अनुसार सिंहेश्वरी मावि आङखोपको खेल मैदानका कात्तिक २७ गते देखि मंसिर ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले १ लाख ११ हजार १११ रुपैयाँ तथा दोस्रो हुनेले ५५ हजार ५५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । सेमीफाईनलबाट बाहिरिने टिमलाई नगद ११ हजार १११ रुपैयाँ प्रदान गरिने समेत बुढाक्षेत्रीले जानकारी दिनुभयो । पुरुष फुटबलतर्फ सर्बोत्कृष्ट हुने खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित स्वर्गीय मोहन इदिङ्गो स्मृति पुरस्कार बितरण गरिने छ । सर्बाधिक गोलकर्ता,उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीले नगद ३ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

महिलातर्फ प्रथम हुनेले नगद ६० हजार ६६६ रुपैयाँ तथा दोस्रो हुनेले ३८ हजार ८८८ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । महिलातर्फको प्रतियोगितामा सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद ५ हजार ५५५ रुपैयाँ पाउनेछन् । महिलातर्फ सर्बोत्कृष्ट हुने खेलाडीले नगद ४ हजार रुपैयाँसहित स्वर्गीय देउमान ताम्लिङ स्मृति पुरस्कार पाउनेछन् । सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई जनही नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र बितरण गरिने आङखोप युवा समाजका पूर्व अध्यक्ष बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

आङखोप युवा समाजका पूर्व खेलाडी स्वर्गीय मोहन ईदिङ्गो र स्वर्गीय देउमान ताम्लिङको स्मृतिमा उहाँका परिवारले विगत देखि नै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको पुरस्कार सौजन्य गर्दै आउनु भएको छ । पुरुषतर्फको खेलमा विगतका खेलहरुमा ताप्लेजुङ बाहेक पाँचथर,इलाम र झापाका खेलाडी तथा टोलीले सहभागिता जनाउँदै आएका छन् ।

Similar Posts