काँग्रेस अधिबेशन : ताप्लेजुङका ९ मध्ये ७ स्थानीय तहको अधिबेशन सम्पन्न,दुई पालिकाको प्रकृया जारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङका ९ मध्ये ७ स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्लाको एकमात्र नगरपालिका फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकामा भने नेतृत्व चयनको प्रकृया सकिएको छैन । फुङलिङ नगरपालिकाका बर्तमान सभापति सुरेश सिंघक,वडा नं ८ का वडाध्यक्ष तथा वडासभापति क्षितिज सुनुवार र वडा नं ६ का वडाध्यक्ष तथा वडासभापति मदन गुरुङ(तेज)ले नेतृत्वको दावी छाड्नु भएको छैन । अधिबेशन सकिएका ७ मध्ये ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने पाथीभरा याङवरक गाउँपालिकामा दुई युवा उम्मेदवारबिचको प्रतिश्पर्धाबाट सभापतिको टुङ्गो लगाईएको छ ।

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य राजकुमार कार्की(राज) र नेबिसंघका कार्यवाहक जिल्ला अध्यक्ष अर्जुन खिम्दिङबिच पालिका सभापतिको लागि भएको निर्वाचनमा खिम्दिङ कार्की भन्दा ४ मत बढी ल्याएर निर्वाचित हुनु भएको छ । बाँकी ६ पालिकाको नेतृत्व सर्वसम्मत रुपमा छानिएको छ । मिक्वाखोलामा पञ्च थलङको नेतृत्वमा,आठराई त्रिबेणीमा सोम बिमली,फक्ताङलुङमा दिलकुमार लिम्बू,सिदिङ्वामा डेनी तामाङ्,सिरिजङ्गामा पूर्णसिंह मावो लिम्बू र मैवाखोलामा टीकाराज कार्कीको नेतृत्वमा पालिका स्तरीय समिति सर्वसम्मत रुपमा चयन भएको छ ।

यसअघि नेपाली काँग्रेसले ताप्लेजुङका ६१ वटै वडामा सर्वसम्मत रुपले नेतृत्व चयन गरी अधिबेशन सम्पन्न गरिसकेको छ । वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिले सम्वन्धित वडा,सम्वन्धित पालिका र सम्वन्धित क्षेत्रीय कार्य समिति चयन गर्नेछन् भने यही क्षेत्रीय प्रतिनिधि जिल्ला अधिबेशनका समेत प्रतिनिधि हुनेछन् । निर्वाचित क्षेत्रीय प्रतिनिधिले महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य समेत चयन गर्नेछन् ।

Similar Posts