फक्ताङलुङका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले भोटेकोशी बाढी पीडितका लागि २६ लाख १५ हजार बढी रकम जम्मा गर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २६ लाख १५ हजार ७४२ रुपैयाँ जम्मा गर्ने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)तथा प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूले सोमवार साँझ एक प्रेस विज्ञप्तिमार्फत पालिकाका जनप्रतिनिधि र कर्मचारी एवम् शिक्षकहरुबाट संकलित रकम संयुक्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने जानकारी दिनु भएको छ । पालिका अध्यक्ष लिम्बूका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधामध्ये १५ दिन बराबरको एकमुष्ट रकम २ लाख ३४ हजार २ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत लिम्बूका अनुसार पालिकामा कार्यरत कर्मचारीको तलव स्केलबाट ६ लाख ४८ हजार ५३२ रुपैयाँ र पालिका भित्र कार्यरत सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलव स्केलबाट १७ लाख ३२ हजार ९६० रुपैयाँ १७ पैसा गरी कुल २६ लाख १५ हजार ७४२ रुपैयाँ १७ पैसा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने छ ।
फक्ताङलुङ गाउँ कार्यपालिकाको २०८३ साल भदौ २६ गते बसेको बैठकले मानवीय भावना तथा सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै भोटेकोशी नदी सहित विभिन्न स्थानमा आएको बाढी लगायत विभिन्न स्थानमा भएका प्राकृतिक विपद्का घटनामा पीडितको सहयोगार्थ जनप्रतिनिधि,कर्मचारी र सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुबाट सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संयुक्त रुपले रकम जम्मा गर्ने निर्णय गरेको थियो ।