अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा खुल्लातर्फ इलामका राई र महिलातर्फ डोल्पाका क्षेत्री पहिलो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २५ । तेस्रो अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको उपाधि खुल्लातर्फ इलामका सञ्जय राई र महिलातर्फ डोल्पाका सुनसरी रोक्का(कमला)क्षेत्रीले जित्नु भएको छ । स्थानीयतर्फको उपाधि भने सिदिङ्वाको कालिखोलाका भरत बाँनियाले जित्नुभयो ।
निर्धारित २१ किलोमिटरको दूरी राईले १ घण्टा २४ मिनेट ३२ सेकेण्डमा पार गर्दै ८३ हजार ५२५ रुपैयाँ पुरस्कारका साथ ट्रफी,मेडलर प्रमाणपत्र हात पार्नु भएको छ । खुल्लातर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राईले १ घण्टा २६ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो पुरस्कार जित्नुभयो । उहाँले ६३ हजार ५२५ रुपैयाँसहित ट्रफी,मेडलर प्रमाणपत्र पाउनुभयो । ताप्लेजुङको मैवाखोलाका फुर्वा लाक्पा शेर्पाले १ घण्टा २७ मिनेट ४५ सेकेण्डमा दूरी पार गर्दै तेस्रो उपाधि हात पार्नुभयोे । उहाँले ४३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनु भएको छ । महिलातर्फ डोल्पाकी क्षेत्रीले १ घण्टा ४६ मिनेटमा दूरी पार गर्दै प्रथम हुनुभयो । उहाँले ८३ हजार ५२५ रुपैयाँ पुरस्कारका साथ साथ ट्रफी,मेडलर प्रमाणपत्र हात पार्नुभयो । १ घण्टा ४९ मिनेटमा दूरी पार गर्नु भएकी पाँचथरकी सम्झना लिम्बू दोस्रो हुनुभयो । उहाँले ६३ हजार ५२५ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनुभयो ।
महिलातर्फ भने प्रथम र द्धितीयका लागि मात्र पुरस्कारको व्यवस्था थियो । सिदिङ्वा गाउँपालिकाका बासिन्दामात्र दौडमा सहभागी हुन पाउने स्थानीय ट्रेल रन प्रतियोगितामा भने सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका भरत बानियाँले उपाधि जीत्नुभयो । उहाँले १ घण्टा ३९ मिनेटमा दूरी पार गर्दै ३३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र हात पार्नु भएको छ । स्थानीयतर्फ भने पहिलो हुनेलाई मात्र पुरस्कारको प्रवन्ध गरिएको थियो । यसबर्ष आयोजक तिम्बुङ पोखरी पर्यटन प्रर्वद्धन विकास समितिले ताप्लेजुङ र पाँचथरका एक–एकजना पत्रकारलाई जनही नगद ३० हजार रुपैयाँ राशीको तिम्बुङ पोखरी पर्यटन प्रर्वद्धन पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पत्रकार महासंघ ताप्लेजुङका पूर्व सभापति किशोरकुमार राई र पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष गिरीराज बाँस्कोटा रहनु भएको छ । राईलाई अघिल्लो बर्षनै बितरण गर्ने भनिएपनि जेन जी आन्दोलनका कारण कार्यक्रम स्थगित हुँदा बितरण हुन सकेको थिएन ।
प्रतिनिधिसभा सदस्य क्षितिज थेबे,सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल,सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया,ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाइँ,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरीका डिएसपी धनबहादुर बोहोरासहितको उपस्थितिमा बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको हो । सिदिङ्वा गाउँपालिकाले तिम्बुङ पोखरी क्षेत्रलाई केञ्जो अर्थात् पदमचालको राजधानी समेत घोषणा गरेको छ । भदौ २४ गते सिदिङ्वा गाउँ कार्यपालिकाको बैठक तिम्बुङ पोखरी क्षेत्रमै बसेको थियो । सिदिङ्वा गाउँपालिका मुख्य प्रर्वद्धक रहेको तेस्रो अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताका लागि पर्यटन कार्यालय काकडभिट्टाले आर्थिक सहयोग गरेको थियो ।