फक्ताङलुङमा सुरु भयो कृषि एम्बुलेन्स सेवा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २५ । किसानको उत्पादनमा बिचौलियाको प्रभाव अन्त्य गरी उत्पादन र बजारबिच प्रत्यक्ष सम्वन्ध स्थापित गर्न ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि एम्बुलेन्स सुरु गरेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार कोशी प्रदेश सरकारको उद्योग,कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग तथा फक्ताङलुङ गाउँपालिकाको लागत साझेदारीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न थालिएको हो । प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)बाट निर्वाचित सदस्य खगेनसिं हाङगाम कोशी सरकारको उद्योग,कृषि तथा सहकारी मन्त्री भएका बखत उहाँकै अग्रसरतामा कृषि एम्बुलेन्सका लागि कोशी सरकारले सहयोग गरेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूका अनुसार कृषि एम्बुलेन्समार्फत कृषिजन्य उत्पादनको संकलन,ढुवानी र बजारीकरणमा सहजीकरण हुने छ ।
कृषि एम्बुलेन्समार्फत उत्पादनको क्षति न्यूनीकरण गरी किसानलाई लागतका आधारमा उत्पादनको मूल्य प्राप्तिमा बल पुग्ने,किसानलाई व्यवसायिक तथा आधुनिक कृषि प्रणालीतर्फ प्रोत्साहित गर्ने पालिकाले विश्वास लिएको छ । कृषि उत्पादनमार्फत किसानको आम्दानीमा बृद्धि,रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सुधार आउने र निर्वाहमुखी कृषि प्रणालीबाट व्यवसायमुखी,आत्मनिर्भर र प्रतिश्पर्धी बजार स्थापित हुने भएकोले किसानको उत्पादनलाई व्यवस्थित कृषि एम्बुलेन्स लाभदायी हुने पालिकाको ठहर छ ।
पालिका अध्यक्ष लिम्बूले किसानको पसिनाले उत्पादन जन्माउने र व्यवस्थित बजारले समृद्धि निर्माण गर्ने भएकोले किसानको उत्पादनमा पूर्ण रुपले बजारको पहुँच स्थापित गर्न पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । कृषि एम्बुलेन्समार्फत किसानको उत्पादन संकलनका लागि पालिकाले विभिन्न स्थानमा संकलन केन्द्र तोकेको छ भने संकलित केन्द्रमार्फत संकलन भएको कृषिउपज उत्पादन सोझै बजारसम्म पुर्याईने छ । कृषि एम्बुलेन्स एक सवारी साधन मात्र नभई यसले किसानको मर्म र आवश्यकताको सम्बोधन गर्ने सेतुको रुपमा रहने पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ ।