डिफेण्डिङ च्याम्पियन सलहेस युवा क्लव ताप्लेजुङ गोल्डकपको फाइनलमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । गतबर्षको डिफेण्डिङ च्याम्पियन सलहेस युवा क्लव,सिराहा ताप्लेजुङ गोल्डकपको चौथो संस्करणमा फाइनलमा पुगेको छ ।

फुङलिङस्थित भानुजन माविको खेल मैदानमा मंगलवार सम्पन्न पहिलो सेमीफाईनल खेलमा सलहेस,भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लवलाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । विजयी टीमका लागि मध्यान्तर पछि पहिलो गोल निसकुमार श्रेष्ठले र निर्णायक गोल फागुराम थारुले गोल गर्नु भएको थियो । मध्यान्तर अघि भने दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । जर्जियन फुटबल क्लवले विपक्षी टीमबिरुद्ध गोल फर्काउन सकेन र खेल सलहेस युवा क्लवले जित्यो । सहलेस ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको बिजेता र दोस्रो संस्करणको उपविजेता हो । टीमका लागि दोस्रो गोल गर्नु भएका ा फागुराम थारु मंगलवारको खेलमा म्यान अफ द म्याच जित्दै ७ हजार रुपैयाँ बराबरको अलैंची प्राप्त गर्न सफल हुनुभयो ।

फाइनलमा सलहेसले बुधवार झापा–११ र पाँचथरको फिदिम स्पोर्टिङ क्लवको बिजेतासंग उपाधि भीडन्त गर्ने छ । प्रतियोगिताका बिजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपबिजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा सर्बोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एकथान मोटर साइकल पाउनेछन् । बिधागततर्फ उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । बुधवार दोस्रो सेमीफाइनल खेलपछि बिहीबार एकदिन बिश्राम गराई भदौ १९ गते शुक्रवार प्रतियोगिताको फाइनल खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समिति अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

Similar Posts