स्वर्गीय साहित्यकार जगमोहनको १७ औं स्मृति दिवसमा सृजना वाचन तथा साहित्य उत्सव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । साहित्यकार जगमोहन शाक्यको १७ औं स्मृति दिवस पारेर मंगलवार ताप्लेजुङमा सृजना वाचन तथा साहित्यक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको आयोजना तथा यहाँस्थित शाक्य मेडिकल हलको प्रायोजनमा कार्यक्रम भएको हो । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकका अनुसार उक्त अवसरमा साहित्य सर्जकहरुले आ–आफ्नो रचना वाचन गर्नु भएको थियो । सो अवसरमा साहित्यकार जगमोहन शाक्यका साहित्यिक तथा सामाजिक योगदानको बारेमा चर्चा पनि गरिएको थियो । कार्यक्रममा पूर्व प्राज्ञ माधव प्रधान,बाँसुरी वादक काजीमान गुरुङले आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका सचिव नवराज आचार्यले बताउनुभयो ।

फुङलिङ नगरप्रमुख अमिर मादेनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लेखक राजेश्वर थापा,साहित्य तथा संगित सर्जक भरतकुमार गुरुङ,कोशी प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङ,साहित्य सर्जक डिल्लीरमण बराल,गजेन्द्रप्रसाद तुम्याहाङ,मात्रिकाप्रसाद भट्टराई,सामाजिक व्यत्तित्व शान्ति मादेन,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी सहित ठूलो संख्यामा साहित्य सर्जकहरु तथा साहित्यकार जगमोहनका छोरा सुन्दरमोहन तथा बुहारी सुष्मा सहितका परिवारजनको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत स्वर्गीय साहित्यकार शाक्य सहित रसुवा बाढीमा ज्यान गुमाउने महानुभावहरुको स्मृतिमा मौनधारण सहित गरिएको थियो ।

बिक्रम् सम्वत् १९९० साल जेठ २६ गते जन्मिनु भएका साहित्यकार जगमोहनको २०६६ साल भदौ १८ गते मृत्यु भएको थियो । शाक्यले २०१० सालमा हस्तलिखित कविताद्धारा साहित्य यात्रा सुरु गर्नु भएको थियो । उहाँले २०१५ सालमा ‘उपहार’ कथा संग्रह प्रकाशित गर्नुभयो । २०१८ सालमा ‘बाह्र मसला’कथा संग्रह प्रकाशित गर्दै शाक्यले कृतिको संख्या दोब्बर बनाउनुभयो । २०४९ सालमा ‘जिन्दगीका फाँटहरु’प्रकाशित गर्नु भएका उहाँले २०५८ सालमा गीत र गजलको रुपमा‘ मनका उच्छवबास’प्रकाशित गर्नु भएको थियो । ‘हारेको सपना’कथा संग्रहसहित उहाँका ६ कृति प्रकाशित भए । स्वर्गीय शाक्यका छोरा सुन्दरमोहनका अनुसार जीवनको उत्तरार्ध समयमा ‘गौरीशंकर’खण्डकाब्य तयार भएपनि उक्त कृति भने प्रकाशित हुन पाएन ।

 

Similar Posts