ताप्लेजुङ गोल्डकपः झापा-११ सँग नेपाल पुलिस स्तब्ध
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १५ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको छ । सोमबार अन्तिम क्वार्टरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल खेल्ने टोलीहरुको टुंगो लागेको हो ।
सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै झापा ११ एफसी सेमिफाइलन पुग्ने अन्तिम टोली बनेको छ । झापाको जितका लागि खेल सुरु भएको पाँच मिनेटमै आयुष घलानले गोल गर्नुभएको थियो । झापा ११ को जितसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
अध्यक्ष मादेनका अनुसार पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र सिराहाको सलहेस युथ क्लब यसअघि नै सेमिफाइनल पुगेका थिए । अब मंगलबारदेखि सेमिफाइनल चरणको खेल सुरु हुने छ । सेमिफाइनलको पहिलो खेल जर्जियन युनाइटेड फुटबल क्लब र सलहेस युथ क्लबबिच हुने अध्यक्ष मादेनले जानकारी दिनुभयो ।
यस्तै दोस्रो सेमिफाइनल खेल फिदिम स्पोर्टिङ क्लबर र झापा ११ बिच हुने आयोजकले जनाएको छ । झापासँग पराजित भएसँगै नेपाल पुलिस क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ । सोमबारको खेलमा झापा ११ का खेलाडी सुमित श्रेष्ठ म्यान अफ दि म्याच बन्न सफल हुनुभएको छ ।
प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुने छ । यसवर्ष प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । यसवर्ष प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीले बजाज कम्पनीको मोटरसाइकल पुरस्कार पाउने आयोजक समितिका कोाषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
वि.सं २०२९ सालदेखि लाखेजात्राको अवसरमा विभिन्न नामबाट खेलाइँदै आएको ऐतिहासिक फुटबल प्रतियोतिगा पछिल्लो चार वर्षयता ताप्लेजुङ गोल्डकपको नामबाट आयोजना गरिँदै आएको छ । प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।