| |

ताप्लेजुङमा भव्यरुपमा मनाइयो गाईजात्रा पर्व

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १३ । ताप्लेजुङमा शनिबार गाईजात्रा पर्व भव्य रुपमा मनाइएको छ । यहाँका नेवार समुदायले सापारु (ख्याग) प्रदर्शनसहित गाईजात्रा पर्व भव्य रुपमा मनाइएका हुन् ।
जिल्लास्थित नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा सदरमुकाम फुङ्लिङमा गाईजात्रा पर्व मानइएको हो । पछिल्लो वर्ष निधन भएका आफन्तको सम्झानामा सापारु प्रदर्शनसहित गाईजात्रा पर्व मनाइएको समाजका जिल्ला अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार यसवर्ष दिवंगत हुनुभएका तीन जनाको सापारु निकालिएको छ ।
उहाँका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–४ का पर्शुराम श्रेष्ठ, वडा ४ कै धीरेन श्रेष्ठ र वडा ५ का किशोर श्रेष्ठको सम्झानामा सापारु निकालिएको हो । दिवंगत भएकाहरुको मृतआत्माको चीरशान्ति तथा सहज बैकुण्ठ बास होस् भन्ने कामना गर्दै सापारु प्रदर्शनसहित गाईजात्रा पर्व मनाइएको उहाँले बताउनुभयो ।
दिवंगत भएकाहरुको सापारुसहित लाखे नाच र नेवार संस्कृतिमा आधारित नृत्यसमेत प्रदर्शन गरिएको उहाँले जानकारी दिनुभयो । यता लाखे नाच तथा गाईजात्रा पर्व नेवार समुदायको धार्मिक तथा जातीय संस्कृतिमा आधारित भए पनि पछिल्लो समय यी पर्वहरु साझा बन्दै गएको नेवार समुदायका अगुवा युवा तथा फुङ्लिङ नगरपालिका–५ का वडाध्यक्ष सोजित श्रेष्ठले बताउनुभयो ।
वडाध्यक्ष श्रेष्ठका अनुसार लाखे नाच्न र नेवार संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्न जातीय पहिरन लगाएर अन्य समुदायका नागरिकसमेत सहभागी हुने गरेका छन् । गाईजात्रा पर्वका दिन सापारुसहित लाखेनाच र अन्य सांस्कृतिक नृत्य फुङ्लिङ बजारको सबै क्षेत्रमा प्रदर्शन गरिएको पनि उहाँले बताउनुभयो ।
यता हिन्दु धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालिएपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको समाजका अध्यक्ष श्रेष्ठको भनाइ छ । धर्मग्रन्थको मान्यतासँगै मल्ल कालीन समयदेखि गाईजात्रा पर्व मनाउन सुरु गरिएको इतिहास रहेको उहाँले बताउनुभयो ।

Similar Posts