शुक्रवारबाट सुरु हुने ताप्लेजुङ गोल्डकपको सबै तयारी पूरा,आयोजकका सबै खेलाडी जिल्ला भित्रका मात्रै !
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । शुक्रवारबाट सुरु हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको सबै तयारी पूरा भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
आयोजक समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार उद्घाटन खेलमा आयोजककोतर्फबाट सहभागी हुने सबै खेलाडी जिल्ला भित्रकै हुनेछन् । आयोजक समितिले यसअघि नै आयोजककोतर्फबाट पहिलो खेलमा सहभागी हुने १७ खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा राखेको थियो । आयोजकले शुक्रवार भारतको जर्जियन फुटबल क्लवसंग उद्घाटन खेल खेल्ने छ । आयोजकले भानुजन माविको खेल मैदानस्थलमा ६ हजार बढी दर्शकले फुटबलको प्रत्यक्ष अवलोकन गर्न पाउनेगरीको व्यवस्था गरेको जनाएको छ । खेल मैदानस्थलमा अस्थायी प्याराफिट निर्माण गरिएको छ भने स्थायी प्याराफिट समेत रहेको छ । सुरक्षा सम्बेदनशिलतालाई दृष्टीगत गरी खेलमैदान वरपरको निगारानी सिसी क्यामेराबाट हुने प्रवन्ध गरिएको छ । प्याकेज टिकट खरिद गर्नेलाई बेग्लै र दैनिक खेलका लागि टिकट गर्नेलाई बेग्लै प्रवेशद्धारको प्रवन्ध गरिएको आयोजकले जनाएको छ ।
सुरुमा मुख्य प्रवेश स्थलमा एउटा मात्र प्रवेशद्धार भएपनि दोस्रो गेटमा दुईवटा प्रवेशद्धारमार्फत दर्शकलाई मैदानस्थल प्रवेश गराईने भएकोले पहिलेजस्तो भिडभाड नहुने आयोजकको बुझाई रहेको छ । खेल मैदान वरपर प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि आयोजकले स्थानीय प्रशासनलाई यसअघि नै अनुरोध गरिसकेको जनाएको छ । यसबर्षको प्रतियोगितामा नाम चलेका क्लव र खेलाडीलाई मैदानमा देख्न पाइने आयोजक समितिका अध्यक्ष मादेनले जानकारी दिनुभयो । आठ टिम सहभागी हुने पहिलो खेलमा भदौ १२ गते समूह ‘ए’आयोजक ताप्लेजुङ–११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबिच प्रतिष्पर्धा हुनेछ ।
भदौ १३ गते हुने दोस्रो खेलमा समूह ‘बी’को चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब आमने–सामने हुनेछन् । भदौ १४ गते हुने तेस्रो खेलमा समूह ‘ए’मा रहेको सातदोबाटो फुटबल क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको डिफेण्डिङ च्याम्पियन सलहेश युवा क्लबको सामना गर्ने छ । भदौ १५ गते समूह ‘बी’मा रहेको विभागीय फुटबल क्लब पुलिस क्लबले झापा–११ फुटबल क्लबसँग क्वाटर फाइनलको अन्तिम खेल खेल्दै पहिलो चरणको खेल समाप्त गर्ने छ ।
भदौ १६ गते हुने पहिलो सेमिफाइनल खेलमा समूह ए’मा मा रहेका ताप्लेजुङ–११ र जर्जियन युनाइटेड फुटबल क्लबको विजेता र सातदोबाटो फुटबल क्लब तथा सलहेश युवा क्लबको विजेताबिच फाइनल यात्राका लागि भिडन्त हुने छ । दोस्रो सेमिफाइनलमा भदौ १७ गते समूह ‘बी’ मा रहेका चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लबको विजेता र झापा–११ तथा नेपाल पुलिस क्लबबिचको विजेताबिच भीडन्त हुने छ । भदौ १८ गते एकदिन खेलाडीलाई खेलको तयारीका लागि बिश्राम दिएर १९ गते फाइनल खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।