पाथीभरा बहुमुखी क्याम्पको लेखा परीक्षण र सार्वजनिक सुनुवाईसंगै उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ११ । ताप्लेजुङमा स्नातकोत्तर तहको पढाई हुने एकमात्र पाथीभरा बहुमुखी क्याम्पसले आर्थिक बर्ष २०८२।८३ को सामाजिक लेखा परीक्षण,सार्वजनिक सुनुवाईसंगै उत्कृष्ट अंक ल्याउने ९ जा बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
क्याम्पसमा विभिन्न अक्षयकोषदाताले स्थापना गर्नु भएको अक्षयकोषको ब्याज रकमबाट ९ जना बिद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजमले जानकारी दिनुभयो । इजमका अनुसार शिक्षाशास्त्र,व्यवस्थापन र मानविकी संकायका प्रथम,दोस्रो तर तेस्रो बर्षका एक–एकजना बिद्यार्थीले उक्त छात्रबृत्ति रकम पाएका छन् । क्याम्पस प्रमुख सजन पौडेलका अनुसार शिक्षासास्त्रतर्फ मेलिना इजम,ब्रिट्नी थेबे र बिनु तामाङ,व्यवस्थापन संकायतर्फ दृष्टी तिवारी,जीवनसिंह साउद र ङिमा शेर्पा तथा मानविकी संकायतर्फ मिमसाङ तुम्याहाङ लिम्बू,रोशन श्रेष्ठ र प्रभाकिरण मेन्याङ्वोले जनही ५ हजार रुपैयाँ बराबरको छात्रबृत्ति पाउनु भएको छ । क्याम्पसमा अहिले ३ लाख ५ हजार रुपैयाँको स्वर्गीय भगिमान–मनमाया–देउमाया गुरुङ अक्षयकोष,२ लाख २ हजार २ सय २२ रुपैयाँ राशीको स्वर्गीय लक्ष्मीप्रसाद पौडेल स्मृति छात्रबृत्ति कोष र १ लाख ११ हजार १ सय ११ रुपैयाँको गंगामाया दाहाल स्मृति अक्षयकोष रहेको छ ।
यसैबिच क्याम्पसले आव २०८२।८३ को आयव्यय विवरणसहित सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई समेत सम्पन्न गरेको छ । सामाजिक परीक्षणका क्रममा सञ्चालक व्यवस्थापन समितिका विश्वराज नाल्वो नेतृत्वको ५ सदस्यीय सामाजिक लेखा परीक्षण टोलीले ३२ बुँदे सुझाव दिएको छ भने ७–७ वटा सवल र दुर्वल पक्ष औंल्याएको छ । लेखा परीक्षण टोलीले सबैखाले आर्थिक कारोवारलाई बैंकिङ प्रणालीबाट मात्र गर्न,खरिद र निर्माणको काम सार्वजनिक खरिद ऐन अनुसार खरिद र भुक्तानीको प्रकृया पूरा गरेर मात्र गर्न,सानो नगदी कोषको सीमा निर्धारण गर्न,क्याम्पसमा आउने आम्दानीको रकम दैनिक र नियमित रुपमा बैंकमा जम्मा गर्न,संकायगत विद्यार्थीको नतिजा विश्लेषण गरी नतिजामा थप प्रभाकारिता ल्याउने कार्यतालिका बनाउन,क्याम्पसका नाममा बैंकिङ क्यूआर अनिवार्य बनाउन र क्याम्पसको खाता सञ्चालनमा सिमकार्ड अल्रेट प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ ।
लेखा परीक्षण टोलीले बत्ति र पानीको महशुल स्वतःछुट पाइने अवधिमै भुक्तानी गर्न,लेखा शाखामा दक्ष कर्मचारीको व्यवस्थापन गर्न,बिषयगत नयाँ संस्करण अनुसार पुस्तकालयमा पुस्तक व्यवस्थापन गर्न,अध्यापक र कर्मचारीको हाजिरी र बिदाको अभिलेख चुस्त बनाउन,दैनिक भ्रमण भत्ताको सम्वन्धमा मनासिव भत्तादर निर्धारण गरी कार्यान्वयनमा ल्याउन र क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखले पाउने भत्ताको खर्च शीर्षक परिभाषित गरी सोहि अनुसार निर्णय गरी कार्यान्वयनमा ल्याउन सुझाएको छ ।
लेखा परीक्षण प्रतिबेदन सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाईको क्रममा क्याम्पसका सह–प्राध्यापक बेधनिधी पौडेल,शिक्षण सहायक राजकुमार बानियाँ,अध्यापक आइत खजुम,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,स्ववियुका उपसभापति रोशन साउदेन सहितले आफ्नो जिज्ञासा तथा सुझाव राख्नु भएको थियो । सहभागीले राख्नु भएका जिज्ञासाको जवाफ दिँदै लेखा परीक्षण टोलीका संयोजक नाल्वाले आफुहरुले गहन अध्ययन पश्चात क्याम्पसको व्यवस्थापन तथा शैक्षिक पक्ष सुधारका लागि देखेका बिषयहरुलाई सुझावको रुपमा राखेको र क्याम्पस व्यवस्थापन समिति र क्याम्पस प्रशासनले लेखा परीक्षण तथा सार्वजनिक सुनुवाईका क्रममा औंल्याईएका सुझाव कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।