आठराई त्रिबेणीका सबै वडाहरुमा बर्थिङ सेन्टर,दोभान स्वास्थ्य इकाईबाट समेत प्रसूति सेवा प्रवाह

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका ५ वटै वडाहरुमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।

पालिकाले दोभानको सामुदायिक स्वास्थ्य इकाईमा रहेको बर्थिङ सेन्टरमार्फत सेवा प्रवाह गर्न थालेसंगै अब पालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर सञ्चालनमा आएका हुन् । पालिकाले पालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउने कार्यलाई अभियानकै रुपमा अघि बढाएको थियो । दोभान सामुदायिक स्वास्थ्य इकाईबाट पहिलोपटक प्रसूति सेवा लिँदै नवजात शिशुको जन्म भएको छ । पालिका सबै वडाहरुमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण उपलब्धी हाँसिल भएको प्रतिक्रिया दिनु भएको छ ।

पालिका अध्यक्ष पोमूले आफु निर्वाचित भएको पहिलो बैठकबाटै पालिकाका सबै वडाहरुमा सुविधाले भरिएको बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गर्नु भएको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुख समिर प्रधानका अनुसार पालिका भरीमा ११ वटा स्वास्थ्य संस्था रहेका छन् । प्रधानका अनुसार पालिकाभरीमा ७ स्वास्थ्य चौकी,१ आधारभूत स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहेका छन् ।

आठराई त्रिबेणीमा अब पालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर समेत सञ्चालनमा आएका छन् । गत आर्थिक बर्ष २०८२।८३ मा पालिकाका बर्थिङसेन्टरहरुबाट जम्मा ५५ जनाको संस्थागत सुत्केरी गराईएको प्रधानले जानकारी दिनुभयो । चालु आवको साउन महिनामा ५ जनाको र भदौमा दोभान सामुदायिक संस्था इकाईमार्फत १ जना गरी चालु आवको भदौ पहिलो सातासम्ममा ६ जनाको संस्थागत सुत्केरी गराईएको समेत प्रधानले जानकारी दिनुभयो ।

 

Similar Posts