तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना,बाजागाजा सहित गरियो उद्घाटन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा शुक्रवार इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह भएको छ ।
पाथीभरा याङवरक र सिरिजङ्गा गाउँपालिकाका अध्यक्षद्धय केशरकुमार सुब्बा र लालकृष्ण चौहान सहितका जनप्रतिनिधिको उपस्थितिमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले सेवा प्रवाह सुरु भएको घोषणा गर्नु भएको छ् । प्रमुख जिल्ला अधिकारी दाहालले इलाका प्रशासन कार्यालय तेल्लोकका पहिलो सेवाग्राही सिरिजङ्गा गाउँपालिका वडा नं २ का महेश भट्टराईलाई नागरिकताको पहिलो प्रतिलिपि प्रदान गरेको इलाका प्रशासन कार्यालय तेल्लोकमा प्रमुख श्यामलाल पन्थीले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयको सेवा प्रवाह सुरु भएको दिनमा आफ्नो मन्तव्य राख्दै पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष सुब्बाले संघीयताको मर्म अनुरुप नागरिकता सहितका सेवा प्रवाह समेत क्रमशःजनताको घरदैलोमै पुग्दै गएको बताउनुभयो । स्थानीय तहको सेवा प्रवाह पश्चात इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने गरी कार्य आरम्भ हुनु गौरवको बिषय भएको उहाँको भनाई थियो ।
कार्यक्रममा सिरिजङ्गा गाउँपालिका अध्यक्ष चौहानले तेल्लोकमा लामो समयको पहल र प्रयत्नपछि इलाका प्रशासन कार्यालय स्थापना हुँदा यहाँका नागरिकहरुमा आफ्नै गाउँघरबाट सेवा लिन पाएको बताउनुभयो । इलाका प्रशासन कार्यालय स्थापनाले जनताको संघीयताको वास्तविक अनुभूत गर्न थालेको बताउँदै चौहानले नागरिकतासहितका कार्यका लागि यहाँका नागरिकले जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता हटेमा प्रसन्नता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अथिति तथा प्रमुख जिल्ला अधिकारी दाहालले विगत समय देखि नै पहलकदमी हुँदै आएपनि प्राविधिक कारणले इलाका प्रशासन कार्यालय स्थापना हुन ढिलाई भईरहेकोमा पछिल्ला पहदकदमीले सार्थकर्ता पाएको बताउनुभयो । सरकारले नागरिकलाई सहज,सरल र व्यवस्थित ढंगबाट सेवा प्रवाह गर्न इलाका प्रशासन कार्यालय स्थापना गरेर सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका नागरिकले अब गाउँघरबाटै सेवा प्राप्त गर्ने जानकारी पनि दिनुभयो ।
इलाका प्रशासन कार्यालय तेल्लोकका प्रमुख पन्थीले नागरिकमैत्री र जनमुखी सेवा तवरले सेवा प्रवाह दिन आफु तयार रहेको बताउँदै सेवा प्रवाह थप व्यवस्थित बनाउन सरोकारवाला क्षेत्रका नागरिकले पनि सहयोग गर्ने विश्वास लिनुभयो । कार्यक्रममा सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो,वडाध्यक्षसहितका जनप्रतिनिधि,कर्मचारी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । नौमति बाजा,च्याब्रुङ नाँचसहितको प्रस्तुति र बाजागाजासहित इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।