ताप्लेजुङ गोल्डकप : आयोजकबाट खेल्ने १७ खेलाडी छनौट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । भदौ १२ गते देखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका लागि आयोजककोतर्फबाट खेल्ने १७ खेलाडीको छनौट गरिएको छ ।

१८ र १९ गते दुईदिन भएको छनौट खेलका आधारमा खेलाडी छनौट उपसमितिले १७ खेलाडीको सूची आयोजक समिति समक्ष सिफारिस गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । खेलाडी छनाौट उपसमितिमा देवकुमार मादेन,सन्तोष गुरुङ,रमेश चोङवाङ र दीपेश आङवुहाङ रहनु भएको थियो । देवकुमार ताप्लेजुङ जिल्ला फुटबल संघका प्रशिक्षक समेत रहनु भएको छ । उहाँका अनुसार सागर श्रेष्ठ(मैवाखोला),प्रनिस गुरुङ र भाईचुङ शेर्पा(फुनपा),नवीन खवास(फक्ताङलुङ),सुनुयोजित यक्सो(आठराई त्रिबेणी) र सञ्जुहाङ साँवा(मेरिङदेन)डिफेण्डरका लागि चयन हुनु भएको छ । यस्तै आठराई त्रिबेणीका सविन तामाङ,फक्ताङलुङका सविन लिम्बू,मेरिङदेनका विवेक लिम्बू र सिदिङ्वाका शिशिर राई मिडफिल्डरका लागि चयन हुनु भएको छ ।

फुनपाका मञ्जित लिम्बू,विवेक मादेन र पवन लिम्बू,मिक्वाखोलाका पासाङ शेर्पा र फक्ताङलुङका दीपेश लिम्बू फरवार्डमा र फुनपाका आकास लिम्बू र सुहाङ लिम्बू गोलरक्षकमा छनौट भएको खेलाडी छनौट उपसमितिले जनाएको छ । खेलाडी छनौटमा सहभागी भएका तर छनौटमा पर्न असफल रहेका खेलाडीहरुलाई आयोजकले चौथो ताप्लेजुङ गोल्डकपका सम्पूर्ण खेलहरु निःशुल्क रुपले अवलोकन गर्न पाउने व्यवस्था गरेको जनाएको छ । चौथो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ८ टीम सहभागी हुँदैछन् । भदौ १२ देखि १९ गतेसम्म फुङलिङस्थित भानुजन माविको खेल मैदानमा हुने यो प्रतियोगिता पहाडी क्षेत्रमा सर्वाधिक दर्शकहरुको उपस्थितिमा हुने खेलको रुपमा परिचित रहेको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका प्रतियोगिताको तयारी तीव्र पारिएको छ । खेल मैदानस्थलमा अस्थायी प्याराफिट निर्माण,खेल मैदान व्यवस्थापन सहितको कार्य चलिरहेको छ । यसबर्ष आयोजकले सम्पूर्ण खेलका लागि जनही ३ हजार रुपैयाँका दरले टिकट पाइने गरी टिकट प्याकेज कार्यक्रम ल्याएको छ । टिकट प्याकेज धमाधम बिक्रीमा गरिरहेको समेत आयोजक समितिले जानकारी दिएको छ । यसबर्ष आयोजकको एक सहित भुटान र भारतका प्रख्यात टीमका साथ नेपालकै नाम चलेका फुटबल क्लवहरुलाई खेलमा आमन्त्रण गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ ।

Similar Posts