जंगली जन्तुले पशु चौपाया र अन्नबाली क्षति गरेवापत पशुधनीलाई केसिएले दियो १० लाख क्षतिपूर्ति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ८ । अघिल्लो आर्थिक बर्षमा कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयले जंगली जनावरले पशु तथा अन्नवालीमा गरेको क्षति वापत सम्वन्धित धनीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार पशुधनको क्षति वापत ८ लाख ४२ हजार रुपैयाँ र अन्नबालीको क्षति वापत १ लाख ५८ हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ । संरक्षण अधिकृत यादवका अनुसार हिम चितुवाले २८ वटा पशु चौपायामा क्षति गरेको छ । हिम चितुवाले गरेको क्षति वापत कार्यालयले पशुधनीलाई ३ लाख ७३ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ ।

जंगली कुकुरले ३७ वटा पशु चौपायामा क्षति गरे वापत कार्यालयले पशुधनीलाई ३ लाख १२ हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । ध्वाँसे चितुवाले १५ वटा पशुमा क्षति गरे वापत ९९ हजार रुपैयाँ र ब्वाँसोले ४ वटा पशुमा क्षति गरेवापत कार्यालयले ५७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो ।

उता भालुले १९ धनी र आसामी बाँदरले १० धनीको अन्नबालीमा क्षति गरेको छ । भालुले अन्नबालीमा गरेको क्षति वापत सम्वन्धित धनीलाई ८४ हजार र आसामी बाँदरले क्षति गरे वापत ७४ हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

Similar Posts