ताप्लेजुङमा एक आर्थिक बर्षमा २३६ जना नयाँ रोजगारी सृजना,६० जना उद्यमी थप
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ४ । आर्थिक बर्ष २०८२।८३ को एकबर्षे अवधिमा ताप्लेजुङमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत २ सय ३६ जनामा नयाँ रोजगारी सृजना भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईका अनुसार एक आर्थिक बर्षको अवधिमा १ सय ४० जना पुरुष र ९६ महिलामा नयाँ रोजगारी सृजना भएको हो । ३१ पुरुष र २९ महिला गरी ६० जना नयाँ उद्यमी सृजना हुँदा २ सय ३६ जनामा नयाँ रोजगारी सृजना भएको घरेलु कार्यालयले जनाएको छ । कार्यालयले आव २०८२।८३ मा ग्राफिक डिजाइन,वेव डेभलपमेन्ट,ब्युटी पार्लर,ट्रयाक सुट सिलाई,एड्भान्स सिलाई कटाई र वारिष्टा तालिम १–१ वटा तथा उद्यमशिलता विकास तालिम दुईवटा सञ्चालन गरेको थियो । कार्यालयले आव २०८२।८३ मा १७ लाख ५२ हजार ६ सय ७ रुपैयाँ राजश्व असुली गरेको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार व्यवसाय रजिष्ट्रेशन शुल्क वापत १६ लाख ९४ हजार ४ सय ७ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क वापत ५८ हजार २ सय रुपैयाँ संकलन गरेको छ । आव २०८२।८३ मा उद्योग प्रशासनतर्फ २ सय २६ वटाको नविकरण,५ वटाको नामसारी,१ वटाको ठाउँसारी,१२ वटाको लगत कट्टा,३ वटाको सुविधा सिफारिस,४ वटाको प्रतिलिपि उतार,७ वटाको पुँजी बृद्धि,१ वटाको नाम परिवर्तन र ३ वटाको आईईई स्वीकृतिका लागि सम्वन्धित निकायमा पठाउने काम भएका छन् । ७६ वटा उद्योगको निरीक्षण गरिएको समेत घरेलु कार्यालयले जनाएको छ ।
आव २०८२।८३ मा ५९ वटा निजी फर्म र १ कम्पनी गरी ६० वटा उद्योग दर्ता भएको छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वन पैदावारमा आधारित २८ वटा,सेवामुलक १९ वटा, पर्यटनतर्फका ७ वटा,उत्पादनमूलक ४ वटा र सूचना प्रविधिमा आधारित २ वटा रहेका छन् । वाणिज्य प्रशासनतर्फ १२ वटा उद्योग खारेजीमा गएका छन् । २५ वटा फर्म दर्ता हुँदा १ सय ६ वटाको नविकरण,४–४ वटाको पुँजीबृद्धि र प्रतिलिपिका काम भएका छन् भने १ वटाको उद्देश्य थप भएको छ ।