अघिल्लो आवमा जिल्ला हुलाक कार्यालय ताप्लेजुङद्धारा ८३ वटा राहदानी घरघरमै पु-याइयो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ४ । जिल्ला हुलाक कार्यालय ताप्लेजुङले करिव तीन महिनाको अवधिमा ८३ वटा राहदानी घर–घरमै पु-याउने सेवा दिएको छ ।
जिल्ला हुलाक कार्यालयका खरिदार विकास लिम्बूका अनुसार ४० वटा जिल्ला भित्रका र ४३ वटा यहाँ घर भई अन्यत्र बसोबास गरिरहेका व्यक्तिहरुको राहदानी हुलाक सेवामार्फत घर–घरमै पु-याईएको हो । जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी राजकुमार आलेका अनुसार अहिले हुलाक कार्यालयमार्फत स्वास्थ्य कार्यालयको औषधि समेत ढुवानी गरी कार्यालयमै पु-याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालयले बिक्री सेवामार्फत ४ लाख २६ हजार ९ सय ५८ रुपैयाँ संकलन गरेको छ ।
हुलाक कार्यालयका सूचना अधिकारी आलेका अनुसार यसमध्ये टिकट बिक्रीमार्फत ३ लाख २४ हजार २ सय ४८ रुपैयाँ,रजिष्ट्री पत्र अनलाइन दर्ता(पिआईटीएस)गरेवापत ९६ हजार ९ सय ३६ रुपैयाँ र भन्सार शुल्कवापत ५ हजार ७ सय ७४ रुपैयाँ असुली भएको छ । यहाँका ९ मध्ये सदरमुकाम रहेको फुङलिङ नगरपालिका बाहेक अरु ८ गाउँपालिकाका सबैमा अहिले पालिका स्तरीय हुलाक कार्यालय रहेको छ । पालिका स्तरीय हुलाक कार्यालयले पिआईटीएस सहितका सुविधा प्रदान गर्दै आइरहेका छन् ।