|

पहिरोले फुरुम्बुमा सडक र विधुत अवरुद्ध

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २ । अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विधुत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको वर्षाका कारण फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो जाँदा सडक र विधुत अवरुद्ध बनेको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार सडकभन्दा माथिबाट झरेको पहिरो ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । फुरुम्बुस्थित आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने ग्रामीण सडक पहिरोका कारण अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात सेवा ठप्प भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
पहिरोले सडकसँगै विधुत सेवा पनि अवरुद्ध भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो र पहिरोका कारण ढलेको रुखले बिजुलीको खम्बा साथै प्रसारण लाइनको तारमा क्षति पुग्दा विधुत सेवा अवरुद्ध भएको हो । पहिरोले विधुतको खम्बा र तारमा क्षति गरेका कारण फुरुम्बु क्षेत्रमा शुक्रबार रातिदेखि नै विधुत सेवा ठप्प बनेको छ ।
विधुत अवरुद्ध बनेपछि इन्टरेटसहित विधुतीय सुविधा र उत्पादनहरु ठप्प भएका स्थानीयले बताएका छन् । यता पहिरोले यातायात र विधुत सेवा अवरुद्ध बनाएपछि पुनः सञ्चालन गर्न पहल भइरहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । सडक खुलाउन र विधुत सेवा नियमित गर्नका लागि शनिबार बिहानैदेखि आवश्यक समन्वय र पहल गरिरहेको उहाँको भनाइ छ ।

Similar Posts