चिकित्सक टिकाउन र सेवा प्रभावकारी बनाउन मैवाखोलाको नीति,झण्डै तलव स्केल अनुसारको रकम थप

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० । प्राथमिक स्वास्थ्य केन्द्र ढुङगेसाँघुबाट चिकित्सकीय सेवा नियमित बनाउन तथा चिकित्सकहरुलाई कार्यस्थलमा टिकाउन ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चिकित्सकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यविधि ल्याएको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र ढुङगेसाँघुको सेवालाई प्रभावकारी,छिटो,छरितो बनाउनका साथै कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन पालिकाले कार्यरत चिकित्सकलाई प्रोत्साहन भत्ता दिएर सेवालाई नियमित र निरन्तर बनाउने नीति लिएको हो । स्वास्थ्य सेवालाई गुणस्तरीय राख्न एवम् कार्य सम्पादनको स्तर सुधार गर्न पालिकाकोतर्फबाट प्रोत्साहन तथा दण्डको व्यवस्था हुँदै आएको छ । पालिकाले उपलब्ध जनशक्तिलाई उच्च मनोवलका साथ नीतिगत,प्रशासनिक एवम् संरचनात्मक विकासलाई संस्थागत गर्ने उद्देश्य अनुरुप चिकित्सकीय सेवा नियमित बनाउन यस्तो कार्यविधिमार्फत चिकित्सक प्रोत्साहन गर्ने कार्यविधि ल्याएको जनाएको छ । कार्यविधि अनुसार प्राथमिक स्वास्थ्य केन्द्र ढुङगेसाँघुमा कार्यरत स्थायी र करार चिकित्सकलाई कार्य सम्पादन करार गरी कार्य प्रगति सूचकका आधारमा एकदिन स्केल बराबरको रकम दैनिक रुपमा उपलब्ध गराइने छ ।

पालिकाले स्वास्थ्य सेवा नियमावली २०५५ को दफा ५६ को उपदफा(२)मा भएको व्यवस्था अनुसार २४ सै घण्टा आकस्मिक सेवामा खटिने मेडिकल अधिकृतलाई उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भनेको छ । पालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो । कार्यविधि अनुसार गाउँपालिका अध्यक्ष संयोजक रहने प्रोत्साहन भत्ता कार्यान्वयन समितिमा पालिका उपाध्यक्ष,लेखा शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुख सदस्य रहनेछन् भने पालिकाका प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् । कार्यान्वयन समितिले सेवा सन्तुष्टी बारे सेवाग्राहीसंग नियमित सोधपुछ गर्ने,स्वास्थ्य संस्थाको सकारात्मक परिवर्तन सम्वन्धी बिषयको अनुगमन गर्ने,स्वास्थ्य संस्थाको गतिविधि बारे चिकित्सक सहितको बैठक बोलाउने,स्वास्थ्य सेवालाई प्रकृयामुखी नभएर परिणाममुखी बनाउन पहल गर्ने,पालिका भित्रका नागरिकलाई अतिरिक्त समयमा समेत सेवा प्रवाह बारे सूचना प्रचारप्रसार गर्ने गराउने सहितका काम गर्ने छ ।

 

 

Similar Posts