नेकपा ताप्लेजुङ जिल्ला कमिटीको सपथग्रण सम्पन्न
-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २१ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङको जिल्ला कमिटी घोषणा गरिएको छ । पार्टी एकतापछि बनेको नेकपाको जिल्ला कमिटी घोषणासँगै पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रमबिच नेकपाको २९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । जिल्ला कमिटीको घोषणासँगै नेकपाका केन्द्रीय नेता तथा कोशी प्रदेश कमिटीका इन्चार्ज राजेन्द्र राईले कमिटीका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराउनुभएको छ ।
जिल्ला कमिटीको संयोजकमा दुर्गाप्रसाद श्रेङचङ्बाङ र सहसंयोजकमा सागरमणि गौतम रहनुभएको छ । श्रेङचङ्बाङ र गौतमलाई पार्टीको प्रदेश कमिटीले यसअघि नै जिल्ला संयोजक र सहसंयोजकको जिम्मेवारी तोकेको थियो ।
पार्टी एकतापछि जिल्ला कमिटीको घोषणा भएसँगै अब साउन पहिलो साताभित्र पालिका कमिटी र साउन दोस्रो साताभित्र वडाकमिटीहरु घोषणा गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिनुभयो । जिल्ला हुँदै पालिका कमिटी र वडाकमिटी चयन गरिसकेपछि पार्टी सदस्यता नवीकरणसहित सङ्गठन विस्तारको कामलाई अघि बढाइने बुढाक्षेत्रीले बताउनुभयो ।
यता पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका पार्टीका प्रदेश कमिटी इन्चार्ज राई, प्रदेश कमिटी संयोजक हर्क नेम्बाङ (मिक्सो) लगायतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा अन्य कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।