नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ताप्लेजुङ शाखाद्धारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १६ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ताप्लेजुङले शनिवार फुङलिङमा समूह अध्यक्षहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका केन्द्रीय अनुगमन अधिकृत पृथसिंह खत्रीले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि तथा सहभागितामा वृद्धि गर्ने विशिष्ट उद्देश्यका साथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रमका मुख्य सहजकर्ता समेत रहनु भएका खत्रीले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा समूह तथा केन्द्र अध्यक्षहरुलाई अभिमुखीकरण गरिएको जानकारी दिनुभयो । उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भिर आपर्थक दुर्घटना हुन गई ठूलो वित्तीय क्षति समेत हुने भएकोले आफ्नो समूह तथा केन्द्रका अध्यक्षमार्फत समूहका केन्द्रका अन्य पदाधिकारी तथा सदस्य समेतलाई यस्तो जोखिमबाट हटाउने उपाय बताउन वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ताप्लेजुङका शाखा प्रवन्धक जुनुल राईले जानकारी दिनुभयो । पैसाको महत्व बुझ्दै आफ्नो समाजमा भएको सार्वजनिक सम्पत्तिको संरक्षण र संर्वद्धनमा सक्षम बनाउन वित्तीय साक्षरता कार्यक्रम चलाउनु परेको राईले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले लघुवित्त वित्तीय संस्थाहरुले समूह धितो राखेर ऋण प्रवाह गर्ने भएकोले समूहका सदस्यहरु आर्थिक परिचालनमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख ओझाले वित्तीय साक्षरताका माध्यमबाट आगामी दिनमा ऋणको उचित परिचालन,समूह सदस्यहरुको इमान्दार आर्थिक परिचालन तथा नियमित किस्ता तिर्ने प्रणालीमा सुधार आई आर्थिक जोखिम कम हुने विश्वास लिनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ५ का वडासदस्य अनिता विक,जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक केशव श्रेष्ठ,इन्भेष्ट मेगा बैंकमा कार्यरत रुपा लिम्बू,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितको उपस्थिति रहेको थियो ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ अन्तरगत केन्द्र नं १३३ मा आवद्ध महिला उद्यमी मात्रिकादेवी प्रसाइँको अध्यक्षतामा भएको कार्यक्रमको समापन गर्दै प्रसाँइले इमान्दार र कर्तव्यनिष्ठ ऋणी बनाउन वित्तीय साक्षरता अभियान प्रभावकारी हुने विश्वास लिनुभयो । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन अधिकृत खत्रीका अनुसार उक्त लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’इजाजत प्राप्त वित्तीय संस्था हो । खत्रीका अनुसार यो वित्तीय संस्थाका देशका ७४ जिल्लामा आफ्नो सेवा बिस्तार भएको छ । देशभरमा १ सय ८५ वटा शाखा रहेको वित्तीय संस्थामा देशभर करिव २ लाख ६५ हजार सदस्य रहेका छन् ।

करिव २८ अर्ब कर्जा लगानी गरिएको वित्तीय संस्थासंस्थाले प्रबिधि मैत्री कारोवार,डिजिटलाइजेसनलाई जोड दिदै सदस्यमैत्री कार्यक्रम सञ्चालन गरिरहेको,मोबाइल बैंकिंग,एसएमएस बैंकिंग,ट्याब्लेट बैंकिंग जस्ता सेवाको साथै देशभरका विभिन्न अस्पतालहरु संग समन्वय गरी सदस्य,सदस्यका घरपरिवारका सदस्य,संस्थाका कर्मचारीहरुलाई औषधि उपचारमा विशेष छुट सुबिधा उपलब्ध गराई रहेको तथा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,स्वास्थ्य,वातावरण लगायत सामाजिक कार्यमा समेत सक्रिय रुपले लागि परेको समेत अनुगमन अधिकृत खत्रीले बताउनुभयो ।

Similar Posts