राश्वपा ताप्लेजुङद्धारा तीन पालिकाको अधिबेशन सम्पन्न,जिल्ला अधिबेशन जेठ २३ मा हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(राश्वपा)नेपालले ताप्लेजुङको फुङलिङसहित तीन पालिकाको अधिबेशन सम्पन्न गरेको छ ।

जिल्ला सभापति वीरेन्द्र श्रेष्ठका अनुसार फुङलिङ नगरपालिका पालिका कमिटी युवराज बराल सभापति रहेको कार्य समिति चयन भएको छ । अधिबेशनबाट उपसभापतिमा कुमार लेछर्बो लिम्बू,सचिवमा मानबहादुर गुरुङ तथा सह–सचिवमा सौरभ इजम लिम्बू चयन हुनु भएको छ । समितिमा प्रेम घिमिरे,कुमारी दाहाल,कल्पना विक,यमकान्त पूरी,मिङमा शेर्पा,महेश भट्टराई तथा बलबहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन हुनुभएको राश्वपाले जनाएको छ ।

राश्वपाले फुङलिङ नगरपालिकामा २०८० साल जेठ ७ गते विधिवत पार्टी कार्यालय स्थापना गरी तत्कालीन अवस्थामा संयोजकको जिम्मेवारी राजन गुरुङ र सचिवमा युवराज बराललाई जिम्मेवारी प्रदान गरिएको थियो । गुरुङ र बराल दुबैजना २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भई कार्यभार पूरा गर्नु भएको थियो । करिब तीन वर्षसम्म उक्त टोलीले संगठनलाई सक्रिय,व्यवस्थित र जनमुखी ढंगले अघि बढाएको भन्दै अधिबेशनसंगै नेतृत्व हस्तान्तरणलाई संगठनात्मक निरन्तरताको सकारात्मक अभ्यासका रूपमा लिएको तत्कालिन संयोजक गुरुङले बताउनुभयो । नगर समितिमा आवश्यक विभागीय संरचना तथा कोषाध्यक्षको चयन भने आगामी कार्यपालिका बैठकमार्फत गरिने राश्वपा ताप्लेजुङले जनाएको छ ।

राश्वपा ताप्लेजुङले यसअघि कविराज लिम्बूको नेतृत्वमा सिदिङ्वा गाउँपालिका तथा भवानीप्रसाद दाहालको नेतृत्वमा सिरिजङ्घा गाउँपालिका कमिटी सर्वसम्मत चयन गर्दै पालिका अधिबेशन सम्पन्न गरिसकेको छ । राश्वपाले अबको दुईदिन भित्रका ताप्लेजुङका बाँकी ६ वटै पालिकाको अधिबेशन सम्पन्न गर्ने तयारी गरेको जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार गत जेठ २ गतेदेखि सुरु भएको संगठन सुदृढीकरण अभियानअन्तर्गत ताप्लेजुङ जिल्लामा समेत पालिका तथा वडा अधिबेशनहरू नियमित रूपमा सम्पन्न भइरहेका छन् । राश्वपा ताप्लेजुङको जिल्ला अधिबेशन जेठ २३ गते सम्पन्न गर्ने तयारी गरिएको समेत श्रेष्ठले बताउनुभयो । वडा अधिबेशन सम्पन्न हुन बाँकी रहेका वडाहरुमा समेत अधिबेशनसंगै नयाँ नेतृत्व चयनको क्रम चलिरहेको समेत राश्वपा ताप्लेजुङले जनाएको छ ।

 

Similar Posts