महासंघको प्रतिनिधित्व कटौतिप्रति शिक्षक संगठनको आपत्ति

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २६ । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङले नेपाल शिक्षक महासंघको प्रतिनिधित्वलाई राष्ट्रिय परीक्षा बोर्ड,राष्ट्रिय शिक्षा परिषद् तथा जिल्ला शिक्षा समितिबाट हटाईएकोप्रति आपत्ति प्रकट गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष मदनकुमार सेन्दाङ र सचिव रुपेन्द्र वनेमले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अध्यादेशमार्फत शिक्षा ऐनका प्रावधानलाई संशोधन गरी शिक्षक महासंघको प्रतिनिधित्वमा गरिएको कटौतिप्रति आपत्ति व्यक्त गर्नु भएको छ । संगठनले शिक्षक महासंघको प्रतिनिधित्वमा गरिएको कटौति शिक्षक समुदायको संबैधानिक प्रतिनिधित्व,सामाजिक सम्बाद र पेशागत सहभागिता माथिको हस्तक्षेपको रुपमा लिएको जनाएको छ ।

शिक्षकको हकहित,सम्मान,संरक्षण,प्रतिनिधित्व र संवादका लागि प्रचलित ऐन अनुसार गठित महासंघको प्रतिनिधित्वको दायरा साँघुरो बनाउनु उचित नहुने ठहर गर्दै संगठनले नेपाल शिक्षक महासंघको विकल्प नभएको तर प्रणालीगत सुधारको आवश्यकता औंल्याएको छ । संगठनले नेपाल शिक्षक महासंघको प्रतिनिधित्व माथि गरिएको हस्तक्षेपको प्रतिवादमा उत्रन नेपाल शिक्षक महासंघ,शिक्षक युनियन र सम्पूर्ण शिक्षक समुदायलाई अपिल गरेको छ ।

Similar Posts