दोभानको शिविरमा ५९ जनाको आँखाको शल्यकृया
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २२ । ताप्लेजुङको दोभान बजारमा सञ्चालित शल्यकृया सहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा ५९ जनाको आँखाको शल्यकृया गरिएको छ ।
आयोजक नेपाल नेत्रज्योति संघका अनुसार दुईदिने शिविरमा ४३ जनाको मोतियाबिन्दुको र १६ जनाको साधारण शल्यकृया गरिएको हो । नेपाल नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेका अनुसार शिविरको पहिलो दिन सोमवार २८ जनाको मोतियाबिन्दुको र ८ जनाको साधारण शल्यकृया गरिएको थियो । दोस्रोदिन मंगलवार १५ जनाको मोतियाबिन्दुको र ८ जनाको आँखाको साधारण शल्यकृया गरिएको छ । दुई दिनको शिविरमा ५ सय ४० जनाले आँखाको परीक्षण गराएका छन् । सोमवार २ सय ९२ तथा मंगलवार २ सय ४८ जनाले आँखाको परीक्षण गराएको थेबेले जानकारी दिनुभयो ।
शिविरमा २ सय १७ जनालाई निःशुल्क रुपमा चश्मा बितरण गरिएको छ । शिविरमा मेरिङदेन गाउँपालिकाका २ सय ८१ जना,आठराई त्रिबेणी गाउँपालिकाका १ सय २३ जना,मैवाखोला गाउँपालिकाका २९ जना,मिक्वाखोला गाउँपालिकाका १६ जना,फुङलिङ नगरपालिकाका ८६ जना,फक्ताङलुङ गाउँपालिकाका २ जना र अन्य जिल्लाका ३ जनाले सेवा लिएको नेपाल नेत्रज्योति संघले जनाएको छ । नेपाल नेत्रज्योति संघको मुख्य अगुवाई तथा मेरिङदेन गाउँपालिका,सेवा फाउण्डेसन काठमाडौं सहितको आयोजनामा शिविर आयोजना भएको हो । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा डाक्टर बिनिता थापाको नेतृत्वका प्राविधिक टोलीले आँखाको परीक्षण तथा उपचार गरेको मेची आँखा अस्पतालका कार्यक्रम संयोजक कविता कार्की कडरियाले जानकारी दिनुभयो ।