आल्मुनियम सहितका सामाग्री चोरी गरेको अभियोगमा एक भारतीय सहित ५ जना पक्राउ
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २२ । तामाको तार चोरी गरेको कसुरमा ताप्लेजुङ प्रहरीले एक बिदेशी नागरिक सहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम फेसेवास्थित निर्माणाधिन तमोर इनर्जी प्रालि अन्तरगत चाइना रेलवे नं २ ईञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको सेग्मेन्ट यार्डबाट सामान चोरी गरेको कसुरमा ५ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार बस्ने ३८ बर्षका जमल, फक्ताङलुङ गाउँपालिका वडा नं १ का २५ बर्षिय यामबहादुर कटुवाल,सोहि ठाउँका २० बर्षिय विवेक लिम्बू,२६ बर्षिय सहवीर लिम्बू र २० बर्षिय मुकुरसिंह लिम्बू रहेका छन् ।
पक्राउ परेकाउनीहरुलाई आल्युनियम कोर केवल १५० एमएमको २१० मिटर,१२० एमएमको ३० मिटर,कपर कोर केवल २.५ एमएमको १ हजार मिटर,कपर कोर बेवल १६ एमएमको ३ सय मिटर गरी जम्मा १ हजार ५ सय ४० मिटर आल्मुनियम र कपर कोर विद्युतीय तारहरु चोरी गरेको अभियोग रहेको छ । गत बैशाख १४ गते यि सामान चोरी भएका थिए ।
चोरी भएका सामानको मूल्य २० लाख रुपैयाँ बढी हुने प्रहरीले प्रारम्भिक मूल्याङ्कन गरेको छ । पक्राउ परेकाहरुलाई ताप्लेजुङ जिल्ला अदालतबमाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । कवाडी सामान खरिद गर्दै आएका भारतीय नागरिक जमलको कवाडी गोदाम खानतलासी गर्दा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ ।