| |

फुङ्लिङको भानुजन माविमा भर्ना हुन प्रवेश परीक्षा

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १६ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिएको छ । भानुजन माविमा भर्ना हुन चाहाने बालबालिका अर्थात विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको हो ।
जिल्लाका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी अभावमा घरदैलो अभियान सञ्चालन गर्ने र विद्यालयमा भर्ना हुनका लागि आह्वान गर्ने गर्दछन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–४ अम्विटारमा रहेको भानुजन माध्यमिक विद्यालयमा भने भर्ना हुन चाहाने विद्यार्थीको भीड लाग्ने गरेको छ ।
नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुने भानुजन माविमा अध्ययन गर्न अर्थात भर्ना हुन चाहाने विद्यार्थीलाई विद्यालयले पहिलो चरणको परीक्षा गराएको हो । विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलका अनुसार कक्षा १ देखि ९ सम्म नै भर्ना हुन चाहाने विद्यार्थीलाई प्रवेश परीक्षा गराइएको हो ।
मङ्गलबार गरिएको प्रवेश परीक्षामा २५० जना बढी विद्यार्थी सहभागी भएका सहायक प्रधानाध्यापक प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली माध्यममा भर्ना हुन चाहाने केही विद्यार्थी अन्यत्र सामुदायिक विद्यालयमा अध्ययन गरेर आएका छन् भने अधिकांश निजी विद्यालय अर्थात बोर्डिङबाट आएको पाइएको छ । बोर्डिङ स्कूलबाट आएका विद्यार्थीले अङ्ग्रेजी माध्यम पढ्नेगरी प्रवेश परीक्षा दिएका उहाँले बताउनुभयो ।
भानुजन मावि जिल्लाकै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो । प्रत्येक वर्ष कक्षा १ देखि १२ सम्म दुई हजार बढी विद्यार्थीले अध्ययन गर्ने गरेका विद्यालयका सहायक प्रधानाध्यापक प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०० विद्यार्थी यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) लेखेर गए पनि एक हजार ८०० बढी विद्यार्थी अझै अध्ययनरत रहेका छन् ।
नयाँ शैक्षिक सत्र २०८३ मा ३०० बढी विद्यार्थी भर्ना हुने अर्थात थपिने अनुमान विद्यालयले गरेको छ । नयाँ शैक्षिक सत्रमा पनि नयाँ भर्ना हुने र पुराना गरी विद्यार्थीको सङ्ख्या दुई हजार बढी नै हुनसक्ने विद्यालयले जनाएको छ । यता सरकारले बैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र २१ गतेदेखि पढाइ सुरु गर्ने निर्णय गरेको थियो ।
सरकारकै निर्णयअनुसार भानुजन माविले भने नयाँ विद्यार्थी भर्ना गर्न मंगलबार प्रवेश परीक्षा सञ्चालन गरेको प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । प्रधानाध्यापक राईका अनुसार प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई विद्यालयमा भर्ना गरिने छ । जिल्लाका केही सामुदायिक विद्यालयले यसअघिदेखि नै विद्यार्थी भर्नाका लागि बालबालिकाको तथ्यांक संकलन गर्ने र अभिभावक भेटघाट लगायतका गतिविधि गरिरहेका छन् ।
त्यस्तै जिल्लामा रहेका निजी विद्यालयहरुले भने गत सातादेखि नै पढाइ सञ्चालन गर्न थालेका छन् । बोर्डिङ स्कूलहरुले पठनपाठनसँगै विद्यार्थी भर्ना गर्दै आएका बुझिएको छ । जिल्लामा ३३० वटा जति सामुदायिक विद्यालय रहेका छन् भने २६ वटा निजी विद्यालय सञ्चालित छन् ।

Similar Posts