सुकेटारमा निर्मित ‘एपिएफ चौतारी’को उद्घाटन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २ । ताप्लेजुङमा अवस्थित सुकेटार बिमानस्थल क्षेत्र नजिक स्थापना भएको‘एपिएफ चौतारी’को बुधवार उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको परिकल्पना तथा फुङलिङ नगरपालिकाको आर्थिक साझेदारीमा निर्माण भएको यात्रु प्रतिक्षालयको फुङलिङ नगरप्रमुख अमिर मादेनले उद्घाटन गर्नु भएको छ । सशस्त्र प्रहरीको २५ औं स्थापना दिवसको अवसरमा निर्माण सुरु भएको यात्रु प्रतिक्षालय शौचालय सहितको रहेको छ । सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक(सशस्त्र डिएसपी) प्रमोदप्रकाश पाठकका अनुसार श्रमदानसहित यात्रु प्रतिक्षालयको कुल ६ लाख ५० हजार रुपैयाँ बराबरमा निर्माण भएको हो ।

यात्रु प्रतिक्षालयको उद्घाटन गर्दै नगरप्रमुख मादेनले बिमानस्थल आउने यात्रु तथा यात्रुका आफन्त,पाथीभरा मन्दिर जाने तीर्थालु र पदमार्ग हुँदै कञ्चनजंघा आधार शिविर जाने पर्यटकका लागि प्रतिक्षालय लाभदायक हुने बताउनुभयो । नगरप्रमुख मादेनले यस्ता सार्वजनिक सम्पत्तिको निर्माण र संरक्षण दुबैमा नगरपालिका र सम्वन्धित वडापालिकाको दायित्व हुने समेत बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बिमानस्थलका यात्रु तथा उनका कुरुवा समेतलाई लाभ पुग्नेगरी प्रतिक्षालयको निर्माणको परिकल्पना गर्ने सशस्त्र प्रहरी वल नेपालको नं १ गुल्म तथा आर्थिक साझेदारी गर्ने नगरपालिकाप्रति आभार प्रकट गर्नु भएको छ । यात्रु प्रतिक्षालयलाई ‘एपिएफ चौतारी’नामाकरण गरिएको छ । प्रतिक्षालयमा पाथीभरा,कञ्चनजंघा सहितका ताप्लेजुङका विभिन्न पर्यटकीय स्थलहरु र सशस्त्र प्रहरी वल नेपालका गतिविधि अंकित तस्बिरहरुको संग्रह समेत राखिने छ । निर्माण सम्पन्न भएको प्रतिक्षालय बुधवार नै सशस्त्र प्रहरीले फुङलिङ नगरपालिका र निर्माणस्थल फुङलिङ नगरपालिका वडा नं ६ लाई जिम्मा लगाएको छ ।

सशस्त्र प्रहरीका डिएसपी पाठकले सुकेटार बिमानस्थल पुग्दा एकजना जेष्ठ नागरिक आमा सडक पेटी छेउमा उभिएर जहाजमा आउने आफ्ना आफन्त कुरिरहेको देखेपछि बिमानस्थल बाहिर एक यात्रु प्रतिक्षालय बनाउने परिकल्पना गरेअनुरुप त्यहाँ यात्रु प्रतिक्षालय बनेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणले बिमानस्थल प्रवेशद्धार भित्र यात्रु प्रतिक्षालयको निर्माण गरिरहेको नागरिक उड्ययन प्राधिकरणका सुकेटार बिमानस्थल प्रमुख दिलिप राजवंशीले जानकारी दिनुभयो । कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का,जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतम,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,सहायक प्रजिअ यादव भट्टराई,फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)सहितको उपस्थिति रहेको थियो ।

 

Similar Posts