व्यक्तिगत घटना दर्ता समयमै र अनिवार्य गर्न ताप्लेजुङका स्थानीय तहको आग्रह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १ । ताप्लेजुङका स्थानीय तहहरुले व्यक्तिगत घटना दर्ता नागरिकको कर्तव्य भएको भन्दै यस कार्यमा उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन् ।

ताप्लेजुङमा एक नगरपालिका र आठवटा गाउँपालिका गरी नौ स्थानीय तह रहेका छन् । स्थानीय तहले व्यक्तिगत घटना दर्ता गराउनु नागरिकको कर्तव्य भएको र यसले नेपाली नागरिकको आधार बिन्दु तय गर्ने बताएका छन् । फुङलिङ नगरप्रमुख अमिर मादेनले व्यक्तिगत घटना दर्ताले नागरिकको प्रारम्भिक अभिलेख तयार हुने बताउनुभयो । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले व्यक्तिगत घटना दर्ताले नागरिकलाई लाभ हुने भएकोले व्यक्तिगत घटना दर्ता नागरिकको कर्तव्य हुने टिप्पणी गर्नु भएको छ ।

व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा शुभकामना सन्देश दिदैं पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले व्यक्तिगत घटना दर्ता गरी जिम्मेवार नागरिकको परिचय दिन आग्रह गर्नु भएको छ । मेरिङेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले व्यक्तिगत घटना दर्ता नागरिकको अनिवार्य जिम्मेवारी हुने उल्लेख गर्नु भएको छ । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले समयमै व्यक्तिगत घटना दर्ता गर्नु भनेको नागरिकले आफ्नै काम समयमै गर्नु बराबर भएको प्रतिक्रिया दिनुभयो ।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की तोकिएको समयावधि भित्रै व्यक्तिगत घटना दर्ता गरी नागरिकले एक महत्वपूर्ण जिम्मेवारी सहज रुपमा पूरा गरेको देखिने बताउनु भएको छ । सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई व्यक्तिगत घटना दर्ता नागरिकले आफ्नो हक अधिकार सुनिश्चित गर्ने आधार प्राप्त हुने बताउँनुहुन्छ । सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले व्यक्तिगत घटना दर्ता नागरिकको अनिवार्य जिम्मेवारी हुने बताउनु भएको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङले समयै व्यक्तिगत घटना दर्ता गर्दा यसले सम्वन्धित व्यक्तिलाई फाइदा पुग्ने भएकोले यो नागरिकको पहिलो जिम्मेवारी हुने बताउँनुहुन्छ ।

हरेक बर्षको बैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाइन्छ । व्यक्तिगत घटना दर्ता भन्नाले जन्म,मृत्यु,विवाह,सम्वन्ध बिच्छेद र बसाँइ सराई जस्ता घटनालाई जनाउँछ । यस्ता व्यक्तिगत घटनाहरु घटना भएको ३५ दिन भित्र आ–आफ्नो स्थायी ठेगाना वा घटना भएको स्थानको वडा कार्यालयमा गई दर्ता गर्न सकिन्छ । व्यक्तिगत घटना दर्ता बालबालिकालाई बिद्यालय भर्ना गर्न,सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न,नागरिकता,राष्ट्रिय परिचयपत्र,राहदानी र नावालक परिचयपत्र प्राप्त गर्न,बैंक खाता खोल्न र राज्यबाट प्राप्त हुने अन्य सेवा लिन अनिवार्य मानिएको छ । जानकाहरुका अनुसार व्यक्तिगत घटना दर्ता नगरि बस्नु भनेको पनि पछिसम्म आफ्नै लागि काम साँचेर राख्नु जस्तै हो ।

Similar Posts