नयाँबर्षसंगै कम्तिमा तीन योजना सञ्चालनका लागि पाथीभरा याङवरकद्धारा निःशुल्क जग्गाको खोजी
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडा कार्यालय भवन निर्माण देखि गाउँपालिकाको सौन्दर्यकरणका लागि बगैंचा निर्माणसम्मका लागि निःशुल्क जग्गाको माग गरेको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार वडा नं ४ को वडा कार्यालय निर्माण प्रयोजनार्थ कम्तिमा २ रोपनी जग्गाको खोजी गरिएको छ । श्रेष्ठका अनुसार जग्गा ख्वाङ जाने सडक देखि पश्चिमतर्फ,सिद्धेश्वरी माविको उत्तरतर्फ र सो माविको खेल मैदानको दक्षिणतर्फ र प्रेम सेनेहाङको जग्गादेखि पूर्वतर्फ हुनुपर्ने छ । गाउँपालिकाको सौन्दर्यकरणका लागि बगैंचा तथा अन्य संरचना निर्माणका लागि पालिकाले वडा नं २ थेचम्बुमा कम्तिमा २ रोपनी जग्गाको खोजी गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार गाउँपालिकाको सौन्दर्यकरणका लागि पाथीभरा याङवरक गाउँपालिकाको भवन देखि पश्चिमतर्फ,प्रयोगशाला भवन देखि दक्षिणतर्फ,दुर्गाबहादुर भट्टराईको घरदेखि पूर्वतर्फ र निर्माणाधिन प्रहरी चौकीको भवन देखि उत्तरतर्फको जग्गा उपयुक्त हुने छ ।
पाथीभरा याङवरक गाउँपालिकाले सुनुवारगाउँ–पूर्णेडाँडा खानेपानी योजना सञ्चालन तथा दिगोपना कार्यक्रम सञ्चालानार्थ डेढ रोपनी जग्गा खोजी गरेको छ । पालिकाका अनुसार उक्त प्रयोजनका लागि तिरिङ्गे देखि महाकाली हुँदै चतुरे जाने मोटरबाटो आसपास सुनुवार गाउँ क्षेत्रमा खानेपानीको मुहान भएको जग्गा उपयुक्त हुने छ ।