सुरु भयो फुटबलको लहर,मिक्वाखोला र मैवाखोलामा पुरुष फुटबल प्रतियोगिता हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १० । राम नवमी र नयाँ बर्षको अवसर पारेर ताप्लेजुङको मिक्वाखोलाका दुई स्थान तथा मैवाखोलाको साँघुमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

जलजले क्लव साँघुले चैत १७ गते देखि खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्लवका अध्यक्ष रुपनारायण घिमिरेका अनुसार महाशिवरात्री पर्वको अवसरमा सञ्चालन हुनेगरी तय भएको फुटबल प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको थियो । उक्त प्रतियोगिता चैत १७ गते नारायणी मावि साँघुको खेल मैदानमा सञ्चालन हुने घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले २ लाख ६१ हजार १११ रुपैयाँ र द्धितीय हुनेले १ लाख ३१ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक जलजले क्लव साँघुले जनाएको छ ।

यता नयाँ बर्षको अवसर पारेर मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित थलङ खेल मैदानमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको छ । आयोजक मानाभरा युवा क्लवका अध्यक्ष रन्ध्वोज थलङका अनुसार प्रतियोगिताको बिजेताले नगद १ लाख १५ हजार रुपैयाँका साथ एकसय तोला चाँदी जडित ट्रफी,मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद ७० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा बिधागततर्फ बेष्ट प्लेयर,बेष्ट डिफेण्डर,बेष्ट किपर र हाई स्कोररलाई ट्रफी सहित प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक मानाभरा युवा क्लवले जनाएको छ ।

मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङमा चैत १३ गतेदेखि अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सृजनशील समाजिक युवा समाजको आयोजनामा हुने प्रतियोगिता नयाँ संरचना अनुसारको अन्तर वडा स्तरीय हुने क्लवका अध्यक्ष रामकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख ७० हजार १ रुपैयाँ तथा दोस्रो हुनेले ८५ हजार १ रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत पुरस्कारको समेत प्रवन्ध गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट फरवार्ड र उदयीमान खेलाडीले जनही नगद १ हजार ५ सय रुपैयाँका साथ प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक मुकेश लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts