गुम्बाडाँडा सामुदायिक होमस्टेमा ३० दिने कुक तालिम
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित गुम्बाडाँडा सामुदायिक होमस्टे क्षेत्रमा एकमहिने कुक तालिम सुरु भएको छ ।
गुम्बाडाँडा सामुदायिक होमस्टेको आयोजना,पर्यटन कार्यालय काकडभिट्टाको आर्थिक सहयोग तथा एक्सपर्ट टेक्निकल कलेजको प्राविधिक सहयोगमा सुरु भएको तालिमको फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले उद्घाटन गर्नु भएको छ । गुम्बाडाँडा सामुदायिक होमस्टे पर्यटकहरुको रोजाईको केन्द्र बन्दै आएकोमा होमस्टेका सदस्यहरुलाई खाना तथा आवासको प्रभावकारी प्रवन्ध देखि अतिथि सत्कार सेवा समेतका बारेमा जानकारी दिन आयोजित तालिम फलदायी हुने विश्वास गुरुङले लिनुभयो ।
तालिमका सहजकर्ता प्रवेश राजधामीका अनुसार तालिम १ सय ६० घण्टा अवधिको हुने छ । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,पत्रकार महासंघका जिल्ला सचिव कृष्ण फुरुम्बो लिम्बू सहितले बोल्नु भएको थियो । गुम्बाडाँडा सामुदायिक होमस्टेका अध्यक्ष मणिराज गुरुङले होमस्टे सञ्चालक र आबद्ध सदस्यहरुको क्षमता विकासको मुख्य ध्येय लिएर तालिमको आयोजना गरिएको बताउँदै तालिमलाई उपलब्धीमुलक बनाएर सिकेको सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सके आर्थिक अवस्था मजवुत बनाउन सहयोगी बन्ने विश्वास लिनुभयो । तालिम उद्घाटन समारोहमा गुम्बाडाँडा सामुदायिक होमस्टे सञ्चालक समितिका पूर्व अध्यक्ष पूर्णकुमारी गुरुङ सहितको उपस्थिति रहेको थियो ।