ताप्लेजुङमा मनाइयो वन डढेलो व्यवस्थापन सप्ताह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ४ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा बुधवार वन डढेलो व्यवस्थापन सप्ताह मनाईएको छ ।
डिभिजन वन कार्यालय,सामुदायिक वन उपभोक्ता महासंघ,जिल्ला प्रहरी कार्यालय सहितका निकायको सक्रियता र समन्वय तथा सरोकारवालाको सहभागितामा वन डढेलो व्यवस्थापन सप्ताहको कार्यक्रम मनाईएको हो । कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालयको प्रांगण देखि र्याली सहित नगर परिक्रमा पश्चात तोक्मेडाँडामा समापनसभा गरिएको थियो । जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको बिशेष उपस्थितिमा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराई,डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख ललितकुमार यादव,सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा,प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी सहितले वन डढेलो व्यवस्थापन सप्ताहका बिषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
नेपालमा सुक्खायाम सुरु भएसँगै फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत,जैविक विविधता, वातावरणीय सन्तुलन,जलस्रोत,मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी,समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा वक्ताहरुले जोड दिनु भएको थियो । वन डढेलो मानवीय हेलचेक्र्याँइको उपज भएको भन्दै यसको रोकथाम तथा न्यूनीकरणका लागि मानिस आफैं सर्तक र सम्बेदनशिल हुनुपर्ने बक्ताहरुले धारणा राखेका थिए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको तत्ववधानमा प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइदैं आएको छ ।