सुपर काबेली खोला‘ए’जलविद्युतको आईपिओ चैत ९ बाट भर्न सकिने,१० लाख ३१ हजार कित्ता शेयर निष्काशन हुँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३ । स्नो रिभर्स लिमिटेडद्धारा प्रर्वद्धित सुपर काबेली खोला ‘ए’जलविद्युत आयोजनाले खुलाएको १० लाख ३१ हजार २५० कित्ता शेयर चैत ९ गतेबाट भर्न पाइने भएको छ ।
प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरिएको हो । निष्काशन भएको शेयर चैत ९ गतेबाट भर्न सकिने आयोजनाका सूचना अधिकारी मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा निर्माण गरिएको १३.५ मेगावाट क्षमताको जलविद्युत परियोजनाले आयोजनाका अति प्रभावित क्षेत्रका लागि ४ लाख ६७ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ६७ हजार ७५० कित्ता शेयर निष्काशन गरेको छ ।
जलविद्युत आयोजनाले सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनलाई अति प्रभावित क्षेत्र मानेको छ । यस्तै प्रभावित क्षेत्रको रुपमा सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनाम,वडा नं २ आम्बेगुदिन,वडा नं ३ सिकैचा,वडा नं ४ तेल्लोक,वडा नं ५ पेदाङ,वडा नं ६ मामाङ्खे र वडा नं ७ खेवाङ,सिदिङ्वा गाउँपालिकाको वडा नं ५ लिम्बूदिन र वडा नं ६ मेहेले,पाथीभरा याङवरक गाउँपालिकाको वडा नं ५ चाक्सिबोटे र वडा नं ६ थुम्बेदिन तथा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं १ साविक अमरपुर गाउँ विकास समितिका सबै वडालाई आयोजनाको प्रभावित क्षेत्रको रुपमा लिएको छ ।
आयोजनाका अति प्रभावित र प्रभावित क्षेत्रका बासिन्दाले सानिमा क्यापिटल लिमिटेड,नक्साल(काठमाडौं),आयोजनास्थल सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिन,नेपाल बैंक लिमिटेड सिरिजङ्गा शाखा(तेल्लोक),एनएमबि बैंक लिमिटेड,फुङलिङ शाखा(ताप्लेजुङ्ग),सानिमा बैंक,फुङलिङ शाखा(ताप्लेजुङ्ग)र ग्लोबल आइएमई बैंक लिमिटेडको फुङलिङ शाखा(ताप्लेजुङ)मार्फत शेयर भर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था रहेको जलविद्युत आयोजनाले जनाएको छ । आयोजना प्रभावितले न्यूनतम् १० कित्ता र अधिकतम् १० हजार कित्तासम्मको शेयरका लागि आबेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने न्यूनतम् १० कित्ता र अधिकतम् १ हजार कित्तासम्मको शेयरका लागि आबेदन दिन सक्ने व्यवस्था रहेको जलविद्युत आयोजनाले जनाएको छ । सूचना अधिकारी ढुङ्गानाका अनुसार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।