टोलबस्तिमै सम्बाद कार्यक्रम गर्ने तयारीमा सिदिङ्वा
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २७ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको विकास,सम्भावना,समस्या र नागरिकको पीरमर्का बुझ्न ‘सिदिङ्वा सम्बाद’ कार्यक्रम गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार प्रत्येक टोलबस्तिमै पुगेर उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । टोलबस्तिमा पुगेर नागरिकका समस्या सुन्ने,विकास निर्माणको अवस्था बुझ्ने,गुनासो ग्रहण गर्ने र आगामी बजेटमार्फत उक्त समस्या समाधानका लागि योजना बनाउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो । पालिकाले समस्याको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न यस्तो बहसलाई अघि सारेको जनाएको छ । टोलबस्तिमा पुगेर नागरिकमाझ गरिएका छलफल तथा सुझाव संकलन पछि त्यसको उचित सम्बोधनका लागि पालिकाले योजना बनाउने तयारी गरेको छ ।
यसबाहेक पालिकाले नेपाल र नेपाल बाहिर रहेका सिदिङ्वावासीलाई सिदिङ्वाको विकास,सम्भावना र समस्या बारे पालिकाको आधिकारिक सञ्जालमार्फत समेत सुझाव दिन आग्रह गरेको छ । संसारभर छरिएर रहेका सिदिङ्वाबासीलाइ सिदिङ्वाको विकास र सम्भावनाको हिस्सेदार बनाउँदै समस्या समाधानका उपायहरु सुझावको रुपमा ग्रहण गर्नेगरी सुझाव माग गरिएको पालिकाले जनाएको छ । सिदिङ्वाले यस्तो सम्बाद कार्यक्रमलाई बौद्धिक बहस गर्ने थलोको रुपमा उपयोग गर्ने जनाएको छ ।