निर्वाचनका दिन ताप्लेजुङमा १८ वटा एम्बुलेन्सलाई तयारी हालतमा राखिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १८ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति ताप्लेजुङले निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा कम्तिमा एउटा एम्बुलेन्सलाई तयारी हालतमा राख्ने निर्णय गरेको छ ।
पालिकामा रहेका एम्बुलेन्सहरुलाई कुनै समस्याका बेला उद्धार गर्न सकिने गरी तयारी हालतमा राख्ने निर्णय भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम फुङलिङसहित जिल्लाभरमा १९ वटा एम्बुलेन्स तयारी हालतमा राखिनेछन् । आवश्यकता परेको खण्डमा एम्बुलेन्स रहेको स्थानबाट नजिकमा क्षेत्रमा परिचालित हुनेगरी तयारी हालतमा राखिएको सेढाइँले बताउनुभयो । उहाँका अनुसार सदरमुकाम फुङलिङ क्षेत्रमा ८ वटा एम्बुलेन्स तयारी हालतमा राखिने छ ।
फुङलिङमा रहेका एम्बुलेन्सले आवश्यकता परेको खण्डमा नगर क्षेत्रका ११ वटा वडालाई ‘कभर’गर्नेछन् । यस्तै मेरिङदेन गाउँपालिकामा एक,पाथीभरा याङवरकमा एक,आठराई त्रिबेणीमा एक र सिरिजङ्गामा एक थान एम्बुलेन्स तयारी हालतमा राखिने छ । फक्ताङलुङ,मैवाखोला,सिदिङ्वा र मिक्वाखोला गाउँपालिकामा दुई–दुई थान एम्बुलेन्स तयारी हालतमा राखिने प्रजिअ सेढाइँले जानकारी दिनुभयो ।
निर्वाचनको समयमा खटिएका कर्मचारी र मतदातासहितका निर्वाचनमा सरोकार राख्ने पक्षलाई स्वास्थ्य सहितका समस्या देखा परी एम्बुलेन्स चाहिने अवस्थामा नजिकमा रहेका एम्बुलेन्समार्फत उद्धार गर्नेगरी तयारी हालतमा राख्ने निर्णय भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।