राप्रपाले ताप्लेजुङमा मनायो पृथ्वी जयन्ती
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतवार ताप्लेजुङमा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्नुका साथै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ र आवश्यकताका बिषयमा छलफल समेत गरिएको राप्रपा ताप्लेजुङका अध्यक्ष अमृत साउदेनले जानकारी दिनुभयो । विसं १७७९ मा जन्मिनु भएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक,आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गर्नु भएको ईतिहाँस छ । शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उहाँले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नु भएको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ ।