ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको सञ्चालन बचत झण्डै ६२ लाख रुपैयाँ,फुङलिङसहित चार स्थानमा साधारणसभा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १८ । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०८१।८२ मा झण्डै ६२ लाख रुपैयाँ सञ्चालन बचत गरेको छ ।

ताप्लेजुङकै जेठो मानिएको सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभामा शुक्रवार आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै कोषाध्यक्ष खड्गबहादुर मोक्तानले ९१ लाख ९८ हजार ५ सय १४ रुपैयाँ सञ्चालन बचत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आवमा ८ करोड २ लाख ९२ हजार २१ रुपैयाँ सञ्चालन आम्दानी रहेकोमा ७ करोड ३४ लाख ८ हजार ७ सय ८३ रुपैयाँ सञ्चालन खर्च भएको छ । संस्थाले ७ करोड ८ लाख ८ हजार रुपैयाँ सञ्चालन आम्दानी हुने अनुमान गरेको थियो । चालु आर्थिक बर्ष २०८३ का लागि संस्थाले ८ करोड ३९ लाख ८ हजार रुपैयाँ सञ्चालन आम्दानी हुने अनुमान गरेको छ । साधारणसभामा अध्यक्ष टामन सिग्देलले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले स्थापना देखि हालसम्म नोक्सान व्यहोर्नु नपरेको र भाका नाघेको ऋणमा प्रसस्त जोखिम व्यवस्था रहेको जानकारी दिनुभयो ।

सिग्देलले सहकारी संस्थाप्रति सदस्यहरुको अटुट विश्वास रहेको बताउँदै शेयर रकम ३ करोड ८७ लाख ८८ हजार २ सय रुपैयाँ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बचत रकम १५ करोड ६० लाख ७७ हजार ७ सय २३ रुपैयाँ रहेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत संस्थाले प्रकोप पीडित शेयर सदस्यलाई जनही २ हजार ५ सय,क्रियाखर्च वापत १० हजार,यातायात खर्च वापत ५ सय,एम्बुलेन्स खर्चवापत १० हजार,दीर्घरोग उपचार खर्च वापत २० हजार र सामाजिक कार्यवापत १० हजार रुपैयाँ प्रदान गर्दै आएको समेत सिग्देलले बताउनुभयो । सहकारीले कृषि उत्पादनमा प्राथमिकता दिन कृषि उपज समेत धितो लिई किसान सदस्यलाई ऋण उलपलब्ध गराउँदै आएको समेत उहाँले बताउनुभयो । सहकारी संस्थामा २ हजार ८ सय २ जना शेयर सदस्य रहेका छन् । संस्थाको नाममा फुङलिङ पराजुली चौकमा १ रोपनी ३ आना जग्गामा दुईतल्ले पक्की भवन र ४७ रोपनी खेतियोग्य जमिन रहेको सिग्देलले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।

उत्कृष्ट सहकारी गतिविधि गरेवापत ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाआन्तरिक राजश्व कार्यालय,राष्ट्रिय सहकारी महासंघ,डिभिजन सहकारी कार्यालय र राष्ट्रिय सहकारी बैंकबाट सम्मानित एवम् पुरस्कृत भएको छ । साधारणसभामा लेखा तथा सुपरीबेक्षण समितिका संयोजक तारानाथ बरालले प्रतिबेदन प्रस्तुत गर्दै अघिल्लो आर्थिक बर्षमा लेखा समितिबाट दिईएको सुझाव र साधारणसभाबाट भएका निर्णय संस्थाले सन्तोषजनक रुपमा कार्यान्वयन गरेको बताउनुभयो । छरिएर रहेका सहकारी शेयर सदस्यलाई घरगाउँमै साधारणसभामा सहभागी हुन पाउने गरी संस्थाले आठराई त्रिबेणी गाउँपालिका वडा नं ५ चाँगे,पाथीभरा याङवरक गाउँपालिका वडा नं १ नाङखोल्याङ र फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको सिँवामा समेत घुम्ति साधारणसभा सञ्चालन गरेको सहकारी संस्थाले जनाएको छ ।

Similar Posts