भालु नियन्त्रण गर्न खोर राखियो
चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ८ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जङ्गली जनावर भालु नियन्त्रण गर्न खोर (फलामे पासो) राखिएको छ ।
केही दिनयता निरन्तर भालुले पशुचौपाया खाएर क्षति गर्न थालेपछि नियन्त्रण गर्न खोर राखिएको हो । पछिल्लो डेढ सातायता फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा भालुले घरमा पालेका पशुचौपाया भेडा र बाख्रा खानुका साथै आक्रमण गरेर क्षति पु¥याइरहेको छ । एउटै गाउँमा निरन्तर भालुले भेडा बाख्रा खाएर आतङ्क मच्चाउन अर्थात क्षति गर्न थालेपछि मङ्गलबार भालु नियन्त्रण गर्न खोर राखिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङको अगुवाइमा भालु नियन्त्रण गर्ने उद्देश्यले फलामको रडले निर्माण गरिएको खोर राखिएको हो । बुङ्कुलुङ धुरौरेका किसान नारायणप्रसाद भण्डारीको भेडा बाख्रा राख्ने खोरसँगै भालु नियन्त्रण गर्ने खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । हालसम्म भालुले पशुचौपाया खाएको र आक्रमण गर्दै आएको प्रकृतिलाई हेर्दा आतङ्क दोहो¥याउने गरेको अर्थात एकै ठाउँ पटक–पटक पशुचौपाया खानलाई वा आक्रमण गर्न आएको पाइएपछि खोर (पासो) राखिएको हो । स्थानीय भण्डारीले पालेको बाख्राको खोरमा फेरि पनि भालुले आक्रमण गर्नसक्ने अनुमान गरी उहाँको बाख्राको खोरसँगै भालु नियन्त्रण गर्ने खोर राखिएको फेकोफनका जिल्ला अध्यक्ष ओझाले बताउनुभयो । उहाँकाअनुसार निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ, नेपाल प्रहरीका प्रतिनिधि लगायको उपस्थितिमा भालु नियन्त्रण गर्ने खोर राखिएको छ ।
बुङ्कुलुङ धुपौरे क्षेत्रमा गत मङ्सिर २८ गतेदेखि हालसम्म भेडा र बाख्रा गरी भालुले आठ वटा खाइसकेको छ भने तीनवटा बाख्रा सख्त घाइते बनाएको छ । डिभिजन वन कार्यालयका अनुसार सोमबार राति मात्र स्थानीय नारायण भण्डारी र पदम गुरुङको दुई वटा बाख्रा भालुले खाएको छ भने दुई वटालाई आक्रमण गरी घाइते बनाएको छ । आइतबार राति धुपौरेकै भीमकुमार गुरुङले पालेका दुई वटा बाख्रा भालुले खाएको छ । त्यसअघि पुस ४ गते एकैदिन स्थानीय भगिमान गुरुङको चार वटा बाख्रा भालुले मारेको थियो । गत मंसिर २८ गते स्थानीय नारायण गुरुङको एउटा भेडा भालुले खाएको थियो । यसरी भालुले निरन्तर पशुचौपाया खाएर आतङ्क मच्चाउन थालेपछि सोमबार मात्र निमित्त डिभिजनल वन अधिकृत यादवको नेतृत्तमा सामुदायिक वन उपभोक्ता महासङ्घका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । यता भालुले निरन्तर पशुचौपाया क्षति गर्न (मार्न) थालेपछि चिन्तित बनेका स्थानीय पशुचौपाया मात्र नभई मानिसमाथि नै भालुले आक्रमण गर्नसक्ने भन्दै त्रसितसमेत बन्दै आएका छन् । भालुले आक्रमण गर्न सक्ने भएकाले वन जङ्गलको बाटो हिडडुल र घाँस दाउरा गर्दा सतर्कता अपनाउन वडाध्यक्ष गुरुङले स्थानीयवासीले अनुरोध गर्नुभएको छ ।