लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान समाप्त,प्राप्त उपलब्धीका आधारमा थप योजना बनाउन सुझाव
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २४ । लैंगिक हिँसा निवारणका लागि प्रत्येक बर्ष मनाइने हिँसा बिरुद्धका अभियानबाट प्राप्त उपलब्धीलाई आधार मानेर आगामी कार्यनीति अघि सानुपर्ने सुझाव ताप्लेजुङको फुङलिङमा आयोजित कार्यक्रममा प्रकट भएको छ ।
बुधवार फुङलिङ नगरपालिकाले आयोजना गरेको लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले अहिलेसम्मका अभियानबाट प्राप्त उपलब्धीलाई मुख्य सूचक मानेर सोहि आधारमा हिँसा बिरुद्धका थप कार्यनीति बनाउन सुझाव दिनुभयो । लैंगिक हिँसा निवारणका लागि उपचारात्मक र निरोधात्मक उपाय प्रधान हुने उहाँको निश्कर्ष छ ।‘अहिलेका अभियानबाट के उपलब्धी भयो,अब कुन क्षेत्रबाट सुधार जरुरी छ भन्ने मापन नगरेसम्म अभियानबाट खास सफलता पाइन्न’प्रजिअ सेढाईँले भन्नुभयो । उहाँले हिँसाका क्षेत्र र प्रकृतिको तथ्याङ्कका आधारमा पीडकलाई समेत निरोधात्मक अभियानमा सहभागी गराउन सकिने बताउनुभयो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले पीडितलाई न्याय,पीडकलाई सजायका साथसाथ नगरपालिकाले हिँसा दबाएर नबस्न सल्लाह दिनेगरी कानुनी र सामाजिक परार्मशका अभियानलाई समेत अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक बर्षभित्र ४६ वटा मुद्दा परेको र त्यसमध्ये ४० वटालाई किनारा लगाई बाँकी ६ वटा प्रकृयामा रहेको जानकारी दिनुभयो । न्यायिक समितिमा परेका अधिकाँस मुद्दा मामिला मेलमिलापका माध्यमबाट किनारा लगाउने गरिएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले लैंगिक हिँसाका घटनालाई न्यूनीकरण गर्न आफु र मातहतका प्रहरी युनिटहरुमार्फत समेत सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले हिँसा निवारणका लागि हिँसामा परेको व्यक्तिले कानुनी लडाँईका लागि अग्रसर हुने बाटो खुल्ला रहेको बताउँदै त्यस कार्यमा आफुहरुबाट सक्दो सहयोग हुने बताउनुभयो । फुङलिङ नगरपालिका वडा नं ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौलाले पीडितहरुको तथ्याङ्कलाई मुख्य आधार मानेर सोहि लक्षित क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने सिकाई आफुमा रहेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले पछिल्लो प्रविधिको गलत प्रयोगबाट लैंगिक हिँसाका घटनामा बृद्धि भइरहेको भन्दै प्रविधिको सहि प्रयोगमा ध्यान दिने बिषयबस्तु प्रस्तुत गर्नुभयो । फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख सीता गुरुङले १६ दिने अभियानका क्रममा नगरपालिकाले १६ दिन सञ्चालन गरेका कार्यक्रमको फेरिहस्त प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जटाशंकर यादव,पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,जिल्ला अध्यक्ष सुवास आचार्य,ताप्लेजुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शान्ति मादेन सहितले लैंगिक हिँसा निवारणमा सरोकारवालाको आगामी भूमिका बारे आफ्नो धारणा राख्नु भएको थियो ।