फेज नेपालद्धारा फक्ताङलुङमा शिक्षा सुधार योजना लागु,लिङखिमबाट बाल विकास सहजकर्ता तालिम सुरु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माविमा बुधवारबाट प्रारम्भिक बाल विकास सहजकर्ता तालिम सुरु भएको छ ।

फेज नेपालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग गर्न गत अक्टोबर महिनाबाट फक्ताङलुङ गाउँपालिकामा फक्ताङलुङ शिक्षा सुधार योजना सुरु गरेको छ । सोहि परियोजनाको अधिनमा बेसलाईन सर्बेपछिको यो पहिलो औपचारिक कार्यक्रम भएको फेज नेपालका परियोजना प्रवन्धक जीतेन चेम्जोङ‘जीवन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनेछ । परियोजनामार्फत अंग्रेजी,गणित र विज्ञान विषयमा सिकाई उपलब्धि बढाउन विद्यालयमा उत्प्रेरकको रुपमा शिक्षक नै सहयोग गर्ने योजना समेत रहेको चेम्जोङले जानकारी दिनुभयो ।

हिमालयन् डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलियाको आर्थिक सहयोग तथा फक्ताङलुङ गाउँ कार्यपालिकाको समन्वयमा सुरु भएको तालिम तीनदिनसम्म चल्ने छ । पालिकाको तल्लो क्षेत्रका लागि यो पहिलो तालिम भएको र मंसिर २७ गते देखि पालिकाको माथिल्लो क्षेत्रका शिक्षकहरुका लागि पालिकाको केन्द्र तापेथोकमा तालिम आयोजना गरिने समेत चेम्जोङले जानकारी दिनुभयो । तालिमको उमुद्घाटन समारोहमा कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पा,सिँवा माविका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू,प्रधानाध्यापक ओमनाथ गौतम,रिड नेपाल ताप्लेजुङका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्त सहितको उपस्थिति रहेको थियो ।

कार्यपालिका सदस्य शेर्पाले तालिममार्फत सामुदायिक विद्यालयका बाल कक्षा सहजकर्ताहरूको सीप, दक्षता र शिक्षण–शिक्षाका आधुनिक विधिहरूमा थप प्रभावकारिता ल्याउने विश्वास लिनु भएको छ । ग्रामीण जनताको जीवनस्तर सुधार गर्न स्वास्थ्य सेवा र शिक्षा सेवाहरूमार्फत तत्काल सहयोग प्रदान गरेर र अनुसन्धान तथा प्रमाणमा आधारित कार्यान्वयनमार्फत समुदायमा आत्म–सशक्तिकरण र जोखिम प्रतिरोधको अवसरहरू सिर्जना गर्ने कार्यमा फेज नेपाल कार्यरत रहेको छ ।

Similar Posts