ताप्लेजुङको साँवा तेम्बामा भएको आगलागीबाट १ करोड १९ लाखको क्षति भएको प्रारम्भिक अनुमान

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बा बजारमा मंगलवार राति भएको आगलागीबाट झण्डै सवा करोड मूल्य बराबर क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार आगलागीबाट १ करोड १९ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार तेम्बाका इन्द्रबहादुर लिम्बूको काठको बेरा र जस्तापाताको छाना भएको ढुङ्गा माटाले बनेको तीनतले घरसहित अन्नपात,लत्ताकपडा,गरगहना र अलैंची सहित गरी ४३ लाख मूल्य बराबरको क्षति भएको छ । उहाँको बिक्रीका लागि ठिक्क पारिएको २५ मन अलैंची समेत जलेको छ । यस्तै राजकुमार लिम्बूको तीनतले घर,लत्ता कपडा,सुनचाँदी,अन्नपात,भाडा वर्तन र मोटर साइकल समेत जल्दा ५० लाख मूल्य बराबरको क्षति भएको विवरण संकलन भएको छ ।

अनिल लिम्बूको तीनतले घर,घरभित्रको अन्नपात,लत्ता कपडा,भाडा वर्तन,सुनचाँदी र पशुपंक्षी समेत गरी २० लाख मूल्य बराबरको क्षति भएको विवरण संकलन भएको छ । यस्तै बिष्णुप्रसाद लिम्बूको काठको बेरा भएको ढुङ्गा माटोले बनेको एकतले घर र घरमा रहेका काठपात,लत्ता कपडा,भाडा वर्तन र बहुमूल्य सामग्री समेत गरी ६ लाख मूल्य बराबरको क्षति भएको छ भने घर अगाडि पार्किङ गरिएको मे१ज ३००३ नम्बरको महेन्द्र म्याक्स गाडीको बर्नटको बाया साईटमा सामान्य तथा ग३च ९८४७ नं. को महेन्द्रा बोलेरो जीपको बाँया साईटको भागमा सामान्य क्षति भएको स्थलगत विवरण संकलन भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

गएराति साढे ११ बजे देखि सुरु भएको आगलागीे नेपाली सेना,नेपाल प्रहरी,स्थानीयबासी समेतको सहयोगमा बुधवार बिहान साढे ५ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी कसरी भयो भन्ने बिषयमा प्रहरीले केहि नबताएपनि स्थानीय गजेन्द्र थलङले भने अगाडि रोकि राखेको बाईकमा अचानक आलगागी भई सोहि आगोले ४ घरमा क्षति गरेको जानकारी दिनु भएको छ ।

 

Similar Posts