विपद् आइहाले राहत तथा उद्धारमा तुरुन्त परिचालित हुन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको आग्रह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १७ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले सम्भावित बाढी पहिरोको जोखिम आइहाले आवश्यक उपकरण र जनशक्तिसहित तुरुन्त परिचालित हुन सरोकारवाला पक्षलाई सजग गराएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले सम्भावित मनसुनजन्य विपद्मा सर्तकर्ता तथा पूर्व तयारीका क्रममा सरोकारवाला समक्ष ७ बुँदे आवश्यक निर्देशन र सुझाव अघि सार्नु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले अत्यन्त जरुरी अवस्था बाहेक घरबाट टाढा र रातिको समयमा यात्रा नगर्न तथा बर्षा र बाटोको अवस्था पूर्ण रुपले नियालेर मात्र सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ । पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तिहरुमा उच्च सर्तकर्ता अपनाउन,त्यस्तो जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानका बारेमा जानकारी लिन र आवश्यक पर्नासाथ सोहि सुरक्षित स्थानमा सर्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

विपद् व्यवस्थापन समितिले विपद् आइहाले राहत तथा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित तुरुन्त परिचालित हुन जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्म,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका अलवा नेपाल रेडक्रस सोसाईटी सहितका सामाजिक संघसंस्थालाई निर्देशन दिएको छ । मौसमविद्हरुले असोज २० गतेसम्म भारी बर्षाको सम्भावना औंल्याएपछि बर्षापछि उत्पन्न हुने सम्भावित विपद् बिरुद्ध जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत सजग गराएको छ । स्थानीय तहका प्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा स्थानीय तह विपद् व्यवस्थापन समिति रहेको हुन्छ ।

Similar Posts