दीप प्रज्वलन,अन्तरक्रिया,सरसफाई र झण्डोत्तोलन गर्दै ताप्लेजुङमा मनाईयो संबिधान दिवस

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३ । दीप प्रज्वलन र अन्तरक्रियासहितका कार्यक्रम गर्दै ताप्लेजुङका तीन राजनीतिक दलले संबिधान दिवस मनाएका छन् ।
नेपाली काँग्रेसले वीरेन्द्रचौकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संबिधान २०७२ संरक्षण र संस्थागत विकासको कामना सहित दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेकपा एमाले ताप्लेजुङले दिउँसो संबिधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अहिले एमाले ताप्लेजुङले पार्टी कार्यालयमा दीप प्रज्वलनको आयोजना गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।
यता नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालयमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आमन्त्रण गरिएको जानकारी आफुले पाएको प्रेस सेन्टरका अगुवा चन्द्र पन्दाकले जानकारी दिनुभयो । संबिधान दिवसको अवसरमा पाथीभरा क्याम्पसको आयोजनामा शुक्रवार बिहान सफाई कार्यक्रम गरिएको क्याम्पस सञ्चालक समिति अध्यक्ष शीला इजमले जानकारी दिनुभयो ।
संबिधान दिवसकै अवसरमा शुक्रवार बिहान ताप्लेजुङ सदरमुकाम फुङलिङको मुख्य प्रवेशद्धार हेलिप्याडमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । राष्ट्रिय झण्डा झण्डोत्तोलन पछि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँईले मन्तव्य राख्नु भएको थियो । सबै कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलन,१० बर्षे सशस्त्र युद्ध,१९ दिने जनआन्दोलन,जेन जी आन्दोलन सहितका आन्दोलनमा शादहत प्राप्त गर्ने व्यक्तिहरुको चीर शान्तिको कामना सहित मौन धारण समेत गरिएको थियो ।