‘ग’ र ‘घ’वर्गमा परेका वा अपाङ्गता परिचयपत्र नचाहिने व्यक्तिलाई पाथीभरा याङवरकले सासुभत्ता नदिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ‘ग’ र ‘घ’वर्गमा परेका वा बिशेषज्ञ चिकित्सकले अपाङ्गता परिचयपत्र नचाहिने भनी सिफारिस गरेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलका अनुसार स्थानीय अपाङ्गता समन्वय समितिको सोमवारको बैठकले उक्त निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगतग गरिएको शिविरमा बिशेषज्ञ चिकित्सकबाट सम्वन्धित अपाङ्गता भएका व्यक्तिको जाँच गरी निजहरुको अपाङ्गता परिचयपत्रको वर्ग परिवर्तन भएको थियो । परिवर्तन भएका परिचयपत्रमध्ये ‘क’वर्गबाट ‘ख’वर्गमा परिवर्तन भएका व्यक्तिको हकमा ‘ख’वर्गको सामाजिक सुरक्षा भत्ता प्रदान गरिने र ‘क’ र ‘ख’वर्गबाट ‘ग’ र ‘घ’वर्गमा परेका वा बिशेषज्ञ चिकित्सकले अपाङ्गता परिचयपत्र नचाहिने भनी सिफारिस गरेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने पालिकाले जनाएको छ ।

पालिकाका अनुसार पालिकाभरीमा जम्मा ५५ जनाको अपाङ्गता परिचयपत्रको वर्ग परिवर्तन वा अपाङ्गता परिचयपत्र नचाहिने भनी बिशेषज्ञ चिकित्सकले सिफारिस गरेका छन् । शिविरमार्फत बिशेषज्ञ चिकित्सकले स्थलगत जाँच गरी गरिएको सिफारिस तथा स्थानीय अपाङ्गता समन्वय समितिको बैठकको आधारमा उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । पालिकाले उक्त निर्णयमा असहमत भए असोज ५ गते भित्र हालसालै गरिएको स्वास्थ्य परीक्षणको कागजात सहित निबेदन दिन समेत आग्रह गरेको छ ।

Similar Posts