|

ताप्लेजुङमा काँग्रेस, एमाले, माओवादी र रास्वपाको पार्टी कार्यालय तोडफोड, लाखौंको क्षति

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २५ । देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले ताप्लेजुङमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय तोडफोड गरेका छन् । उक्त पुस्ता अर्थात समूहले सदरमुकाम फुङ्लिङमा रहेको काँग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाको जिल्ला पार्टी कार्यालय मंगलबार राति तोडफोड गरेका हुन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सोमबारदेखि सुरु भएको आन्दोलनका क्रममा सुरुकै दिन १९ जनाको मृत्यु हुनेगरी प्रहरीले गरेको दमन गरेपछि जेनजी पुस्ताले आन्दोलनलाई थप उग्र बनाएका थिए । ताप्लेजुङमा पनि मंगलबार दिउँसो फङ्लिङमा प्रदर्शन र साँझ फङ्लिङ बजारको वीरेन्द्रचौकमा दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका सो समूह बेलुकादेनि तोडफोडमा उत्रेका थिए ।
मङ्गलबार राति करिव ८ बजे पछिबाट जेनजी पुस्ताका नाममा तोडफोडमा उत्रेका समूहले सुरुमा नेकपा (एमाले) को जिल्ला कार्यालयमा तोडफोड मच्चाएका थिए । आफ्नै भवन रहेको पराजुली चौकस्थित एमालेको पार्टी कार्यालयमा प्रवेश गरी जेनजी समूहले टेबल, कुर्सी, दराज लगायतका फर्निचर सामग्री तथा कागजात तोडफोड र नष्ट गरेका थिए ।
त्यसपछि पुरानो बैंक लाइनमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा प्रवेश गरी फर्निचरका सामग्री, कागजात लगायतका अन्य सामग्री नष्ट गरेका छन् । सो समूहले काँग्रेसको पार्टी कार्यालय तोडफोडपछि फुङ्लिङ बजारको न्यूरोडस्थित गुराँस टोलमा रहेको माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा राति करिव १० बजेपछि तोडफोड गरेका थिए ।
माओवादी कार्यालयभित्र रहेको फर्निचर, कम्प्युटर, प्रिन्टर लगायतका सामग्री तोडफोड गर्नुका साथै कागजातसहितका सामग्री बाहिर सडकमा निकालेर आगजनीसमेत गरेका छन् । जेनजी पुस्ताको नामबाट भएको कार्यालय तोडफोडबाट धेरै क्षति हुन पुगेको सम्बन्धित राजनीतिक पार्टीले जनाएका छन् । तोडफोडबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts