निमित्त रहेका ताप्लेजुङका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत,मेहताको स्थानमा चौधरी आउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट चलिरहेका ताप्लेजुङका तीन स्थानीय तहमा शाखा अधिकृत तहका प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी त्यहाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिदिङ्वा गाउँपालिकामा महमद नवाज हुसेनलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको छ । हुसेन मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तरगत कार्यरत हुनुहुन्थ्यो । प्रमुख प्रशासकीय अधिकृत विकास विकको सरुवा भएपछि त्यहाँ अधिकृत छैटौं तिवेन्द्र अधिकारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । यस्तै मेरिङदेन गाउँपालिकामा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तरगत कार्यरत कमलबहादुर बस्नेतको सरुवा गरिएको छ । अहिले त्यहाँ स्वास्थ्य शाखाका संयोजक समेत रहनु भएका उदयकुमार यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

मैवाखोला गाउँपालिकामा भाषा आयोगमा कार्यरत निर्मलकुमार राईको सरुवा गरिएको छ । त्यहाँ शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देन निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको छ । यसअघि त्यहाँ शशी लिङदेनको सरुवा भएपनि उहाँ नआईकनै अर्का प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको हो । यस्तै सरकारले आठराई त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको सरुवा गरी नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रमोदकुमारी चौधरीलाई पठाएको छ । मेहताको धनकुटास्थित चौबिसे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ भने आठराई त्रिबेणीमा रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत चौधरीको सरुवा भएको छ । यसअघि पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भईसक्नु भएका चौधरी स्वास्थ्य सेवा अन्तरगत मैवाखोला गाउँपालिकामा लामो समय कार्यरत रहनु भएको थियो ।

Similar Posts