माथिल्लो मेवाखोला हाईड्रोले बनाईदियो करिव ९ किमी सडक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १२ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका मुख्य प्रभाव क्षेत्र रहेको माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले पालिकाको वडा नं ४ स्थित फुङफुङ्गे झरना देखि वडा नं ५ सिम्बुकसम्म पुग्ने ९ किलोमिटर मोटरबाटो बनाईदिएको छ ।
सौर्य होल्डिङ प्रालिद्वारा प्रवद्र्धित ३१.९२ मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाले २०८१ साल माघ २ गतेबाट मोटरेवल सडक खन्न सुरु गरी २०८२ सालको भदौ ११ गते फुङफुङ्गे झरना देखि दलैंचा हुदै वडा नम्बर ५ को सिम्वुकसम्म जोडेको आयोजनाका प्रवन्धक कल्याण गौतमले जानकारी दिनुभयो । भौगोलिक र दुरीका हिसावले दुर्गम मानिएको उक्त क्षेत्रमा सडक निर्माण कार्य पूरा भएपछि जलविद्युत आयोजनाले मोटरेवल सडक निर्माण कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ । ६ अर्ब ३७ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको मितिबाट तीनबर्ष भित्र पूरा गर्नेगरी माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले प्रारम्भिक कार्य सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा गत जेठ अन्तिम सातामात्र हस्ताक्षर भइसकेको छ । सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । कुल लागतमध्ये बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।