घाइते वडाध्यक्ष सेन्दाङलाई थप उपचारका लागि रेफर गरियो

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ७ । जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कदै गर्दा सांघातिक आक्रमणमा परी घाइते एमाले नेता तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङलाई थप उपचारका लागि रेफर गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी दिनुभयो । डिएसपी गौतमका अनुसार वडाध्यक्ष सेन्दाङको टाउको सहित शरिरका बिभिन्न भागमा चोट रहेको छ । घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।
जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कदै गर्दा सेन्दाङ माथि तोक्मेडाँडा क्षेत्रमा ५–७ जनाको एक समूहले सांघातिक र निर्घात आक्रमण गरेको स्रोतको दावी छ । प्रहरीले आक्रमणमा संलग्नहरुको खोजी कार्य जारी राखिएको बताएको छ । घटनाका बारेमा अनुसन्धान सुरु भईसकेको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दाहेरामा ल्याउने प्रहरीले बताएको छ ।